बालेनले स्टन्ट गरेको भन्दै एमालेले बुझेन पत्रः भन्यो, दरबारमार्गको आयोजक हामी होइनौँ
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले काठमाडौँ महानगरपालिकाले पठाएको जरिबानासहितको पत्र बुझ्न अस्वीकार गरेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरपालिकाको टोलीलाई नेकपा एमाले केन्द्रीय कार्यालयले आफूहरू आयोजक नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको हो ।
शुक्रबार दरबारमार्गमा भएको जागरण सभाको आयोजक नेकपा एमाले जिल्ला काठमाडौँ, नेकपा एमाले जिल्ला ललितपुर र नेकपा एमाले जिल्ला कमिटी भक्तपुर भएकाले आयोजकहरूलाई नै पत्र बुझाउन एमालेले आग्रह गरेको छ । शुक्रबार एमालेले गरेको जागरण सभामा सडक पेटीमा जथाभाबी फोहोर गरेको भन्दै महानगरले जरिबाना पत्र लेखेको थियो ।
एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले चिठी बेठिक ठाउँमा आएको बताए । नेकपा एमाले केन्द्रीय कार्यालय उक्त कार्यक्रमको आयोजक नभएकाले आयोजकलाई नै चिठी बुझाउन आग्रह गरेको उनले बताए ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्टन्टबाजी गरेका भन्दै सामान्य प्रशासनिक कुराहरू बुझेर मात्रै काम अघि बढाउन आग्रह गरे । 'यो चिठी बेठिक ठाउँमा आइपुग्यो, यो चिठीको आयोजक नेकपा एमाले केन्द्रीय कार्यालय होइन। महानगरले सामान्य कुरा के बुझ्नुपर्छ भने को आयोजक हो भन्ने कुरा थाहा पाउनुपर्छ', उनले भने, 'एमालेको इतिहास हेर्नुस्, एमालेले कहिले पनि आफूले कार्यक्रम गरेको ठाउँमा फोहोर छोडेको छैन ।'
कार्यक्रम नसकिँदै सञ्चारमाध्यममा पत्र पुगेको भन्दै आक्रोश व्यक्त गरे। उनले एमालेले कार्यक्रम गरेका हरेक ठाउँमा सरसफाइ गरेको दाबी गरे ।