प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल भएको एमालेको निष्कर्ष
काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) ले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको निष्कर्षसहित धन्यवाद ज्ञापन गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले चीन भ्रमणमा प्रधानमन्त्री ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनामा सम्झौता गरी अघि बढाउनु आफैँमा सफलता भएको निष्कर्ष निकालेको हो ।
बैठकपछि बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणको समीक्षा गरिएको बताए । उनले नेपाल—'चीन सम्बन्धमा पारेका प्रभावको समीक्षा गर्दा भ्रमण सफल भएको निष्कर्ष निकालेको बताए । अन्य सम्झौताका अतिरिक्त बिआरआईमा भएको सम्झौता नेपालको दीर्घकालीन विकासका लागि निकै महत्त्वपूर्ण उपलब्धि भएको एमालेको ठहर छ ।
सत्तामा रहेका प्रमुख पार्टीहरूको बीचमा भएको सहमतिले बिआरआईलाई निष्कर्षमा पुर्याउन सहयोग गर्नुका साथै भविष्यमा परराष्ट्र नीति र बाह्य सम्बन्ध सञ्चालन गर्दा दिगोपन राष्ट्रिय सहमति निर्माण हुने आधार बनेको निष्कर्ष एमालेको छ । बिआरआई सहमतिमा दुवै देशले कार्यान्वयनमा जोड दिनुपर्ने एमालेको भनाइ छ ।
'प्रधानमन्त्रीज्यूको हालै सम्पन्न चीन भ्रमण, त्यसमा भएको सम्झौता, त्यसले नेपाल—चीन सम्बन्धमा पार्ने प्रभावहरूको बारेमा समीक्षा गरेका छौँ । भ्रमण निकै सफल भएको निष्कर्ष निकालेका छौँ । अन्य सम्झौताका अतिरिक्त बिआरआईमा जुन सम्झौता भएको छ, त्यो नेपालको दीर्घकालीन विकासका लागि निकै महत्त्वपूर्ण उपलब्धि हो भन्ने बैठकले निष्कर्ष निकालेको छ', उनले भने, 'सत्तामा रहेका प्रमुख पार्टीहरूको बीचमा जुन ढंगको अण्डरस्ट्याण्डिङ बनेको छ, यसले बिआरआईलाई निष्कर्षमा पुर्याउन त सहयोग गरेको छ नै भोलिका दिनमा परराष्ट्र नीति र वाह्य सम्बन्ध सञ्चालन गर्दा एउटा दिगोपन राष्ट्रिय सहमति निर्माण हुने आधार बनेको छ । भ्रमण निकै सफल रहेको निष्कर्षसहित बधाई ज्ञापन गरेका छौँ । दुवै देशले भएका सहमतिको शीघ्र कार्यान्वयनमा केन्द्रित हुनुपर्ने हाम्रो निष्कर्ष छ ।'
यसैगरी, बैठकले मंसिर १६ गते सम्पन्न स्थानीय तहका उपनिर्वाचनको समीक्षा गरेको गरेको छ । जसमा समग्रमा विगतको भन्दा धेरै सिट जिते पनि कुनै पनि पार्टीले जनताको मत आफ्नो साथमा राख्न नसकेकोमा समीक्षा गरेको बताए । शहरी क्षेत्रमा जनमत सोचेको जस्तो नआएको बारेमा पनि छलफल गरिएको र आगामी दिनमा जनमत जोड्दै जाने बारेमा निष्कर्ष निकालेको बताए ।
मतको परिवर्तनलाई गम्भीरतापूर्वक लिएको उपमहासचिव प्रदीप ज्ञवालीको भनाइ छ । केही राजनीतिक दलका नेताहरूले आफ्नो क्षणिक स्वार्थका निम्ति सामाजिक सञ्जालहरूको दुरुपयोग गर्दै मिस इन्फरमेसन र डिस इन्फरमेसनको माध्यमबाट जनतामा निराशा र भ्रम फैल्याउने काम गरेको निष्कर्ष एमालेको छ ।