प्रधानमन्त्रीका विरुद्ध भ्रामक प्रचार गर्नेमाथि कारबाही गर्न चौतारीका महासचिवको माग

काठमाडौँ । नेकपा एमाले तथा त्यसको नेतृत्वका विरुद्ध लगातार भ्रम फिँजाउने तत्त्व नियोजित रूपमा लागेको भन्दै प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले उनीहरू माथि कारबाहीको माग गरेका छन् । 
नेकपा एमाले र सो पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी ओली विरुद्ध सामाजिक सञ्जाल मार्फत अनेक खालका भ्रम फैलाउने कार्य निरन्तर भइरहेको भन्दै उनले त्यस्तो माग गरेका हुन् । विभिन्न ठाउँका भिडियोहरू जोडेर मंगलबार एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली माथि काभ्रेमा दुर्व्यवहार प्रयास भन्दै सामाजिक सञ्जालमा केहीले भ्रम फिँजाउने प्रयास गरे पछि महासचिव लामाले कारबाहीको माग गरे ।
मंगलबार दिनभरि ललितपुर महानगरपालिकाको कार्यक्रममा रहेका प्रधानमन्त्री ओली काभ्रे गएको र उनीमाथि दुर्व्यवहार प्रयास भएको भन्दै सामाजिक सञ्जाल मार्फत भ्रम फिँजाउने कोसिस भएको थियो । प्रधानमन्त्री ओली मंगलबार ललितपुर महानगरपालिकाको १ सय ६ औँ स्थापना दिवसको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी थिए ।
प्रधानमन्त्री ओलीको आज काभ्रेमा कुनै कार्यक्रम नरहेको र त्यहाँ नगएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ । 
प्रेस चौतारी नेपालका महासचिव काभ्रेका निवासी पत्रकार लामाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको आज काभ्रेपलान्चोक जिल्लामा कुनै कार्यक्रम नभएको बताए । 'सामाजिक सञ्जालमा फैलाइएका तथ्यहीन र भ्रमपूर्ण समाचारप्रति खेद व्यक्त गर्दछु, षडयन्त्रपूर्ण ढङ्गले गलत सूचना प्रवाह गर्नेहरूउपर हदैसम्मको कानुनी कारबाहीको माग गर्दछु', लामाले भने ।