ऋषिकेश पोखरेलकी श्रीमती अदालतमा उपस्थित हुनुपर्छ : योगेश भट्टराई

काठमाडौँ । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अदालतमा उपस्थित हुनुपर्ने बताएका छन् । 
एमालेका सचिवसमेत रहेका सांसद भट्टराईले सोमबार (आज) बसेको समितिको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् । उनले भने, 'समितिका सभापतिको श्रीमती फरार रहेको कुरा आइरहेका छन् । अदालतमा उपस्थित हुन राम्रो हुन्छ ।'
लेखा समिति सुशासन र 'चेक एन्ड ब्यालेन्स'का लागि पनि बनेकोले आर्थिक रूपमा प्रस्ट हुनुपर्ने बताउँदै भट्टराईले भने, 'यो स्पष्टीकरण दिने फोरम त होइन तर, यसबारे प्रस्ट बनाइदिनुस् ।'
पोखरेलकी श्रीमती अञ्जला कोइराला मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी ठगी प्रकरणमा मुछिएकी छन् । तर, अहिले उनी फरार छिन् । कोइरालासहित २५ जनाविरुद्ध गत पुस २ गते जिल्ला अदालत, मोरङबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।