माओवादी पहिलो पार्टी बने भ्रष्टाचारको जरो उखेलिने छ : प्रचण्ड
झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट आफ्नो पार्टीलाई पहिलो बनाए भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्ने उद्घोष गरेका छन् ।
झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजित एक खबरदारी सभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले बताएका हुन् ।
अध्यक्ष प्रचण्डले सरकार छाड्ने बेलामा अहिलेको गठबन्धन सरकार जालझेलबाट आएको असंवैधानिक र अप्राकृतिक सरकार भएको स्पष्ट गरेको स्मरण पार्दै सरकारले अहिले दलाल र बिचौलियाको काम गरिरहेको पुष्टि हुँदै आइरहेको बताए ।
२०६४ को निर्वाचनमा झापा आएर सम्बोधन गर्दा झापाबाट क्रान्तिको झण्डा फराएको अनुभूति गरेको स्मरण गर्दै उनले आजको कार्यक्रमले त्यसमा नयाँ कडी जोडेको र अब झापा सुशासनका लागि हुने क्रान्तिको केन्द्र हुने बताए ।
दुई दिनको बिचमा आफूले पश्चिमको कञ्चनपुरदेखि पूर्वको झापासम्म वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न पाएको उल्लेख गर्दै उनले देशभर देखिएको ध्रुवीकरणको लहर अर्थपूर्ण रहेको बताए छन् ।