सहकारी ठग्ने कांग्रेस नेतालाई पनि पाता कसेर लैजानूः गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी अनुसन्धानमा जोडिएका कांग्रेसका पदाधिकारी वा कुनै नेता छन् भने पाता कसेर लैजान आग्रह गरेका छन् ।
उनले यो कुरा आफूले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बैठकहरूमा तथा सार्वजनिक रूपमा पनि भनेको थापाले बताएका हुन् ।
ललितपुरको मितेरी सहकारीमा कांग्रेस उपसभापति धनराज गुरूङ जोडिए पनि अनुसन्धान नभएको चर्चा भइरहेको छ ।
मकवानपुरमा मंगलबार आयोजित कार्यक्रममा महामन्त्री थापाले उपसभापति गुरूङको नाम नलिई भनेका छन्, ‘मैले सरकारका प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि भनिरहेको छु, यहाँबाट सार्वजनिक रूपमा पनि भन्छु, यदि कांग्रेसको नेता, पदाधिकारी वा कोही माछे सहकारीको ठगीमा कहीँ कतै पनि अनुसन्धानले देखाउँछ भने पाता कसेर लैजानूस् ।'