प्रहरीको फरेन्सिक रिपोर्ट : सहकारीमा रविको हस्ताक्षर नै नक्कली

काठमाडौं । सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियाको खातामा गएको एक करोड रुपैयाँको विवादित कर्जा प्रकरणमा रवि लामिछानेको हस्ताक्षर नै नक्कली भएको प्रहरीकै फरेन्सिक प्रतिवेदनबाट पुष्टि भएको छ ।

प्रहरीले लामिछानेको नाम देखाएर गोर्खा मिडियामा गएको एक करोड कर्जालाई समेत ठगीको बिगो मानेर अभियोग दायर गरेको छ । तर, कर्जासम्बन्धी आन्तरिक फारममा रहेको हस्ताक्षर लामिछानेको नभएको भनेर प्रहरीको फरेन्सिक ल्याबले प्रतिवेदन बुझाएको छ।

२०७७ जेठ र असारमा सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियाको ग्लोबल आइएमई बैंक खातामा जम्मा भएको एक करोड रुपैयाँ रवि लामिछानेको नाममा कर्जा देखाइएको थियो । तर, प्रहरी अनुसन्धानकै क्रममा सो हस्ताक्षर लामिछानेको वास्तविक हस्ताक्षरसँग मेल नखाएको उल्लेख छ । प्रहरीले सरकारी वकिल कार्यालयमा पठाएको रायसहितको अनुसन्धान प्रतिवेदनमा सो फरेन्सिक रिपोर्ट समावेश भए पनि अदालतमा भने नभेटिएको स्रोतले बताउछ।

बुधबार कास्की जिल्ला अदालतमा भएको थुनछेक बहसका क्रममा जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले समेत उक्त कर्जा खाता कृत्रिम रहेको स्वीकार गरेकी छिन् ।

न्यायाधीश नीतिज राईले सहकारीबाट लामिछानेको नाममा एक करोड रकम गएकोमा उनको इन्कारी बयान सम्झाएपछि काफ्लले कृत्रिम रहेको जानकारी दिएकी हुन् ।

अनुसन्धानको क्रममा उक्त रकम लामिछानेले कुनै बैंक खातामार्फत वा नगद लिएर व्यक्तिगत हिसाबमा खर्च नगरेको प्रमाणित भएको छ । लामिछाने पक्षका वकिलहरूले गोर्खा मिडियाको खातामा जम्मा भएको रकम लामिछानेले निजी रूपमा प्रयोग नगरेको र उनीमाथि एक करोड रकमको बिगो लगाउनु बदनियतपूर्ण भएका बताएका हुन्।