सन् २०२४ : विमान दुर्घटनाको दुःखद् वर्ष

काठमाडौँ । अङ्ग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रुपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रुपमा दर्ज भयो । ठूला–ठूला विमान दुर्घटना भए । ती दुर्घटनामा धेरै मानवीय क्षति बेहोर्नुपर्‍यो ।

सन् २०२४ समाप्ति हुनुभन्दा दुई दिनअघि अर्थात् डिसेम्बर २९ तारिखका दिन दक्षिण कोरियाको मुआनमा एक सय ८१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त हुँदा एक सय ७९ जनाले ज्यान गुमाए । दुईजनालाई सुरक्षाकर्मीले भग्नावशेषबाट जीवितै उद्धार गरेका थिए ।

बैंककबाट फर्कँदै गरेको उक्त विमानमा चालक दलका ६ सदस्यसहित एकसय ८१ जना सवार थिए । सियोलबाट करिब दुई सय ८८ किलोमिटर दक्षिणपश्चिममा रहेको दक्षिण जियोला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर सिमेन्टको पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो ।

यसअघि डिसेम्बर २५ मा अजरबैजान एयरलाइन्सको एम्ब्रेयर इआरजे १९० एआर विमान कजाकिस्तानको अक्ताउ विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो । वर्षको उत्तरार्धमा भएका दुई ठूला विमान दुर्घटनामा दुई सय १७ जनाले ज्यान गुमाए ।

विमान दुर्घटनामा सन् २०२४ मा इरानी राष्ट्रपति इब्राहिम रइसी र अफ्रिकी देश मालीका उपराष्ट्रपति साउलोस क्लाउस चिलिम जस्ता विशिष्ठ व्यक्तिको मृत्यु भयो । मे २० तारिख (जेठ ७ गते) इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो ।

यस्तै जुन ११ (जेठ २९ गते) मालीका उपराष्ट्रपति चिलिमिको सैन्य विमान दुर्घटनामा मृत्यु भएको थियो । नयाँवर्ष २०२५ को सुरुआत हुँदैगर्दा सन् २०२४ एयरलाइन्सका लागि दुःखद् सावित भयो ।

यस वर्षभित्र ठूला ठूलासहित धेरै सङ्ख्यामा विमानहरु दुर्घटनामा परेका थिए । डिसेम्बर महिनामा मात्रै ६ वटा ठूला विमान दुर्घटना भएका छन् । ती दुर्घटनामा दुई सय ३४ जनाको मृत्यु भएको छ ।