प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि

काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि हुँदै छ ।

बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका कार्यालय सचिव अनिलकुमार विष्टले बताए ।

दशरथचन्द क्रिकेट मैदानमा संघको सहयोगमा दुईवटा टर्फपीच निर्माण गरेपछि यहाँ प्रतियोगिता आयोजना गरिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताए ।

टर्फपीचमा खेल गराउँदा खेलाडीलाई माथिल्लो स्तरमा खेल्न सहयोग पुग्ने भएकाले यहाँ प्रदेशस्तरीय छनोट प्रतियोगिता राखिएको जनाएको छ । 


पुस २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा क्रिकेट संघमा आबद्ध प्रदेशका आठ जिल्लाको सहभागिता रहने प्रतियोगिता संयोजक रमेशबहादुर बोहराले जानकारी दिए।


सार्वजनिक खेलतालिकाअनुसार सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले बताए। समूह ‘ए’को विजेता र समूह ‘बी’को विजेताबीच पुस २५ गते फाइनल खेल हुनेछ।