आजदेखि देशभर एकै साथ जलपंछी गणना गरिँदै
कंचनपुर । देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपंछी गणनाकार्य गरिने भएको छ। हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपंछी गणनाकार्य गरिँदै आएको छ।
जनवरी ४ तारिखदेखि १९ सम्म (पुस २० गतेदेखि माघ ६ गतेसम्म) जलपंछीको सङ्ख्या, प्रजाती, बासस्थानको अवस्था बारे जानकारी लिनका लागि गणनाकार्य हुनलागेको नेपाल पंछीविद सङ्घका बरिष्ठ चरा विद तथा वेटल्याण्ड्स इन्टरनेशनल नेपालका लागि जलपंछी गणना संयोजक लक्ष्मणप्रसाद पौड्यालले बताए ।
उनका अनुसार यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्याङ्क सङकलनकार्य हुनेछ ।
गत वर्ष कोशिटप्पु बन्यजन्तु आरक्ष, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज, काठमाडौँ, पोखरा, लुम्बिनी, बिसहजारी ताल, घोडाघोडी, जगदिशपुरलगायतका तालसँगै देशका विभिन्न ताल तलैया र सिमसार क्षेत्रमा जलपंछी गणनाकार्य गरिएको थियो ।
‘यस वर्ष पनि यी क्षेत्रलाई निरन्तरता दिइने लक्ष्य राखेका छौँ’ उनले भने, ‘गोक्यो, गोसाइँकुण्ड, माईपोखरी, फोक्सण्डो तालजस्ता हिमाली क्षेत्रका तालमा भने अझै नियमित गणनाकार्य हुन सकेको छैन, यी ताल र अन्य संभावित सिमसार क्षेत्रमा चरा अबलोकनमा जानेको विवरण माग गरेका छौँ इच्छुक जो सुकैले जान सक्छन् ।’
विगतका वर्षझै यस वर्ष पनि तराई, भित्रि मधेश, रारा ताल, काठमाडौँ उपत्यका र पोखरा उपत्यका सबै प्रमुख सिमसार क्षेत्रमा जलपंछी गणनाकार्य गरिने उनले बताए ।
भारतीय महादिपमा एशियाली जलपंछी गणनाकार्य सन् १९८७ देखि वेटल्याण्ड्स इन्टरनेशनलले शुरु गरेको हो । यो कार्य शुरुमा एशियाको अफगानिस्तान, जापान, दक्षिण एशिया र अष्ट्रेलियामा गरिएको थियो ।
सन् १९८७ देखिनै नेपालमा पनि एशियाली जलपंछी गणनाकार्य नियमितरुपमा हुँदै आएको छ । नेपालमा पहिलो गणना एक रामसार साईट र अन्य केही सिमसार क्षेत्रमा गरिएको थियो । त्यस पछि गणनाकार्य निरन्तररुपमा जारी रहेको छ।
यस कार्यबाट सिमसार क्षेत्रको अवस्था, जलपंछीको प्रजनन्को अवस्था र जलवायू परिवर्तनको अवस्था बारे जानकारी पाउन सकिने उनी बताउँछन्। जलपंछी गणना सिमसारको स्वास्थ्य मूल्याङ्कन, जलवायु परिवर्तनको अवस्था बुझन, सिमसार संरक्षण योजना बनाउन र जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण रहेको उनको भनाइ छ।