प्रहरी बढुवामा गृहमन्त्री र आइजिपीको आनाकानी
काठमाडौं । नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा चरम राजनीतिक हस्तक्षेप हुँदा पाँच महिनादेखि बढुवा प्रक्रिया अलपत्र परेको छ ।
भदौदेखि रिक्त एसएसपी पदको बढुवामा राजनीतिक दलका नेताहरूले कनिष्ठ र आफूनिकटलाई च्याप्न खोज्दा प्रक्रिया नै अवरुद्ध बनेको छ । एसएसपीका १७ पद रिक्त भएका थिए। त्यसपछि एसएसपीका आठ पद रिक्त भएका हुन् ।
पद खाली भएको चार महिनासम्म पनि पूर्ति नहुँदा कामकाज प्रभावित बनेको विषयमा प्रहरी प्रधान कार्यालय संवेदनशील बने पनि बढुवाका आकांक्षीहरू शक्ति केन्द्र धाएकोमा असन्तुष्ट बनेको छ ।
यसपटक २०५६ असार ३ र २०५८ साउन १८ मा प्रहरी निरीक्षकमा भर्ना भई २०७५ फागुन १३ मा एसपीमा बढुवा भएका अधिकृत एसएसपीमा बढुवाका दाबेदार हुन् । त्यसमा गोविन्द अधिकारी, विनोद सिलवाल, विमलराज कँडेल २०५६ सालका भर्ना हुन् ।
रमेश थापा, प्रकाश रानाभाट, कमल थापा, कृष्णप्रसाद कोइराला, जनार्दन जिसी, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपमशमशेर जबरा, श्यामकुमार महतो, कृष्णप्रसाद पंगेनी, अजय केसी, नवराज अधिकारी, वीरबहादुर बुढामगरलगायत बढुवाका आकांक्षी हुन् ।
यसमध्ये रानाभाट धनुषामा एसपी हुँदा लागु औषधको कारोबारीसँग आर्थिक लाभ लिएको भन्ने पुष्टि भएपछि कारबाहीको सिफारिसमा परेका थिए । अहिलेकै आइजिपी कुँवर सचिवालयमा रहँदा उनलाई कारबाही गर्न खोजेका थिए । तर तत्कालीन अवस्थामा शक्तिकेन्द्रको दबाबमा परेपछि रोकिएको थियो ।
उनको ट्र्याक रेकर्ड राम्रो नभएको प्रहरी प्रधान कार्यालयको दाबी छ । उनलाई सरकारी वकिल कार्यालयले बयान लिनुपर्ने भन्दै सिफारिस गरेको थियो । साथै एसपी थापा ललितपुर हनीट्र्याप काण्डमा मुछिएका थिए । उनको पनि बढुवाको सम्भावना निकै कमजोर छ । कँडेल पनि अपराध महाशाखामा इन्स्पेक्टर हुँदा यार्सा गुम्बा लुटपाटमा निलम्बनमा परेका थिए । विमल बस्नेतको पाँच वर्ष बढुवा रोक्ने निर्णय भएको छ। उनको पनि बढुवा हुने सम्भावना छैन ।
प्रहरी महानिरीक्षकले कार्यक्षमता र कार्यसम्पादन मूल्यांकनमा कमजोर रहेकालाई अगाडि ल्याउन नमानेपछि अहिलेको बढुवामा गृहमन्त्रीको खास चासो छैन । कांग्रेस विभिन्न नेतामार्फत ५६ नम्बरमा रहेका चक्र जोशी, ५० नम्बरमा रहेका योगेन्द्रसिंह थापा, ४५ नम्बरमा रहेका पदमबहादुर विष्ट, ३९ नम्बरमा रहेका भुवनेश्वर तिवारी, ४१ नम्बरमा रहेको सुरेश काफ्ले, ३८ नम्बरमा रहेको राजेन्द्र धमलाले आफूहरू जसरी पनि बढुवा हुनुपर्यो भन्दै दबाब दिएइपछि आइजिपीले यो त सिपाहीलाई एकै पटक बढुवाको फुली लगाएबराबर हुने भन्दै उनीहरूको बढुवामा अस्वीकार गरेका थिए ।
यसमा गृहसचिव गोकर्णमणि दुवाडीको पनि समर्थन रहेको छ। गृहसचिव गोकर्णमणि दुवाडीले पनि कार्यसम्पादन मूल्यांकनलाई आधार मानेर बढुवा गर्ने अडान लिएका छन् ।
‘कार्यसम्पादन मूल्यांकन हेरेर मात्रै बढुवा गर्न सकिन्छ, बढुवामा विवाद ल्याउनुहुँदैन,’ गृहसचिव दुवाडीको भनाइलाई उद्धृत गर्दै मन्त्रालय स्रोतले भन्यो । उता आइजिपी कुँवरले पनि बढुवाको पालो सबैको एकपटक नआउने भएकाले चेन अफ कमान्ड नबिग्रिने गरी बढुवा प्रक्रिया अघि बढाउने अडान कायमै राखेका छन् । ‘सबैको पालो आउँछ । तेस्रो र चौथो लटबाट घुस्ने तयारी राम्रो होइन । सिंगो संगठनमा यसले समस्या उत्पन्न गराउँछ,’ आइजिपीको भनाइ उद्धृत गर्दैै स्रोतले भन्यो ।