नेपाल टेलिकमले आफूलाई समीक्षा गरेर अगाडि बढ्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) ले आफूलाई समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

नेपाल टेलिकमको २१औँ वार्षिकोत्सवको अवसरमा यहाँ मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै टेलिकमको आम्दानी वर्षेनी घट्दै गएको र निजी क्षेत्रबाट सञ्चालित कम्पनी अगाडी आइरहेको सन्दर्भमा टेलिकमले गहिरो गरी समीक्षा गर्नुपर्ने बताए । 

सरकारका प्रवक्ता गुरुङले भने, 'सरकारी कम्पनीमध्ये टेलिकमप्रति हामीले गर्व गरिरहेका छौँ, तर प्रतिस्पर्धी बजारमा यही पाराले टेलिकम चल्दैन, यही बेलामा हामीले समीक्षा गर्न सकिएन भने पछि पछुतो हुन सक्छ ।' बढ्दो प्रविधिको प्रयोगलाई टेलिकमले अविलम्ब गर्दै सेवा विस्तार गरी निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नुपर्ने मन्त्री गुरुङको भनाइ थियो । 

मन्त्री गुरुङले जनताप्रति उत्तरदायी बनाउनका लागि टेलिकममा कम्तीमा २५ प्रतिशत सेयर जनताको हुनुपर्ने बताए । 'सुशासनसँग जोडिएको विषय इ–गर्भरनेन्श हो, त्यसको लागि फोर–जी गाउँ–गाउँमा पुग्नुपर्‍यो, त्यसो गरेको खण्डमा यो क्षेत्रको विकास धेरै हुन्छ', उनले भने । 

मन्त्री गुरुङले अहिले पनि ग्रामीण स्थानमा टेलिकमको टावरको समस्या भइरहेको बताउँदै गुणस्तरीय र प्रभावकारी सेवामा ध्यान दिन टेलिकमका कर्मचारीलाई निर्देशन दिए । 


बढी जनसङ्ख्या भएको मधेश प्रदेशका २२ वटा जिल्लामा अहिले पनि टेलिकमको उपस्थिति कमजोर रहेको बताउँदै यो वर्ष मधेशमा पर्याप्त टेलिकमको पूर्वाधार विकास गरी अवरोध रहित सेवा प्रवाह गर्न पनि उनले निर्देशन दिए । उनले अनलाइन मिडिया लगायत सामाजिक मिडियालाई व्यवस्थापन गर्नका लागि सरकारले 'सामाजिक मिडिया प्रयोग र नियमन गर्ने विधेयक' संसद्मा दर्ता गरेको बताए । 

नेपाललाई आइटी हबको रूपमा विकास गर्नका लागि सञ्चार, सूचना र प्रविधिसँग जोडिएका अन्य ऐन/कानुन निर्माण तथा संशोधन गर्ने तयारीमा रहेको उनको भनाइ  छ । सरकारका प्रवक्ता गुरुङले मुलुकको आवश्यकताको आधारमा जनताको हितका निम्ति सरकारले अध्यादेश मार्फत विधेयक ल्याउनु परेको प्रस्ट पारे । 

सञ्चार मन्त्रालयका सचिव तथा टेलिकमका अध्यक्ष राधिका अर्यालले भौगोलिक रूपमा अत्यन्त विकट गाउँमा समेत टेलिकमले सेवा विस्तार गरिरहेको सन्दर्भ उल्लेख गर्दै मुलुकलाई डिजिटलाइजेसन गर्ने सरकारको योजनामा सहयोग पुर्‍याउन सबैलाई आग्रह गरे ।