सरकार देशलाई आइटी हब बनाउन तयार छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई आइटी हब बनाउन आवश्यक नीति, कानुन र पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताएका छन् ।
'क्यान इन्फोटेक'को ३०औँ संस्करणको बिहीबार काठमाडौँमा उद्घाटन गर्दै मन्त्री गुरुङले त्यस्तो बताएका हुन् । उनले नेपाललाई आइटी हबको रूपमा विकास गर्न आवश्यक नीति, कानुन र पूर्वाधार निर्माणका लागि सहजीकरण गर्न मन्त्रालय तयार रहेको बताए ।
सरकार र निजी क्षेत्रको सहकार्यमा नेपाललाई आइटी हबको रूपमा विकास गरी विश्वलाई चिनाउनुपर्नेमा जोड दिँदै उनले आइटी क्षेत्रबाट यो वर्ष गत वर्षभन्दा धेरै राजश्व संकलन हुने विश्वास रहेको बताए । उनले सरकारले ल्याएको अध्यादेश प्रभावले राजश्व बढाउन सक्ने उल्लेख गरे ।
नेपालमा पर्यटनभन्दा आइटी क्षेत्रको योगदान बढी हुने अवस्था रहेको बताउँदै मन्त्री गुरुङले पर्यटनको कथा धेरै वर्षको भए पनि सन्तोषजनक प्रगति गर्न नसकेको भन्दै पर्यटनमा पूर्वाधारको धेरै अभाव देखिएको बताए ।
उनले पर्यटन विकासको लागि बनाएको दुई वटा विमानस्थल चलाउन नसकेको स्वीकार गरे । 'सरकारले नेपालको आफ्नै स्याटलाइट बनाउने भनेका छौँ। नास्टका वैज्ञानिकहरूले बनाएको डिजाइन गरेको ५० किलोग्रामको भारतको पनि सहयोगमा प्रक्षेपण गर्दै छौँ भन्नुभयो'‚ उनले भने, 'नेपालमा पर्यटनभन्दा आइटी क्षेत्रको योगदान बढी हुने भयो । पर्यटनको कथा भनेको धेरै भयो तर पूर्वाधारको धेरै अभाव देखिन्छ । बनाएको दुई वटा विमानस्थल चलाउन नसकेका छैनौँ । आइटी क्षेत्र भर्खर सुरु गरेका छौँ । नेपाललाई आइटी हबका रूपमा चिनाउनु पर्छ ।'
उनले अध्ययन गर्ने र आवश्यक पूर्वाधार विकास गरी काम गर्ने वातावरण मुलुकभित्रै बनाए वैज्ञानिक खोज्न नासा जानुपर्ने अवस्था नहुने उल्लेख गरे ।