कार्य क्षमता तीव्र बनाउन कर्मचारीलाई सञ्चार मन्त्री गुरुङको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालय मातहतका विभाग र निकाय प्रमुखलाई कार्य क्षमता तीव्र बनाउन आग्रह गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज आर्थिक वर्ष २०८१/२०८२ को दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा निर्देशनात्मक धारणा राख्दै मन्त्री गुरुङले मन्त्रालयको पुँजीगत खर्च बढाउन तर्फ जोड दिनुपर्ने बताए । पुँजीगत खर्च नहुनुको विधि कारण मध्ये, मन्त्रालयमाझ अल्झिएको कानुनी र नीतिगत बाधा पनि एक रहेको उनले बताए ।
दोस्रो त्रैमासिक प्रगति समीक्षामा मन्त्रालयले केही विषयमा अत्यन्त राम्रो उपलब्धि हासिल गरेको र केहीमा धेरै मिहिनेत गर्नुपर्ने विचार मन्त्री गुरुङले राखे । 
नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले सम्बन्धित निकाय र विभागले पनि आफ्नै बलबुतामा कार्य सम्पादन बढाउन सक्ने धारणा राख्नुभयो । प्रत्येक विभागहरूलाई सम्बोधन गर्दै मन्त्री गुरुङले आ–आफ्नो समस्या के छ पहिचान गरी समाधान गर्न चासो देखाउन आग्रह गरे । उनले भने, 'तीन दिनभन्दा बढी न राख्नु टेबलमा कागज । बढीमा ७ दिन राख्नु । त्यो भन्दा भएन भने कारण खुलाउनुस् ।'
'प्रशासन कार्य शैली हाम्रो एकदमै कमजोर देखियो', मन्त्री गुरुङले भने, 'अर्को केही नीतिगत अस्पष्टताले काममा बाधा ल्याएको छ ।' त्यस्तै उनले कर्मचारीहरूलाई कार्यालयमा आएको फाइल तीन दिन भित्रै पुरा गर्न निर्देशन दिए । 'तपाईँको टेबलमा आएको काम तिन दिनभन्दा बढी नराख्नुहोस्', उनले भने, 'सात दिन कट्यो भने कारण खुलाएर कार्यालय प्रमुखलाई भन्नुहोस् । तर, अलमलमा नपार्नुहोस् ।'
मन्त्री गुरुङले यसै वर्ष काठमाडौँमा आइटी पार्क निर्माण गर्ने, गोरखापत्रको भवन निर्माण गर्ने, एआईमार्फत उद्यमशीलतामा जोड दिने, सार्वजनिक सेवा प्रसारण संस्था (पीएसबी)लाई बजेट व्यवस्थापन गर्ने लगायतका योजना रहेको बताए ।