पहिरोमा पुरिएर अर्घाखाँचीमा दम्पतीको मृत्यु

अर्घाखाँची । भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा पहिरोमा पुरिएर एक दम्पतीको मृत्यु भएको छ । 

मंगलबार बिहान करिब ९ बजेतिर घाँस काट्न र चिउरी टिप्न गएका स्थानीय ६६ वर्षीय गोविन्द बुढामगर र उनकी श्रीमती श्यामकला बुढामगरको पहिरोमा पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लले जानकारी दिए । 

दुवै जना रोजा तुसारेपानीस्थित आफ्नै खर्‍यानतर्फ गएकामा समयमै घर नफर्किएपछि खोजीका लागि परिवारले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा उनीहरू सुक्खा पहिरोले पुरिएको अवस्थामा फेला परेको डिएसपी मल्लले बताए ।

ढुंगा लागेर शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका कारण घटनास्थलमै दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झलकप्रसाद शर्माको भनाइ छ ।