राष्ट्रिय सभाको कार्यकाल सकिनै लाग्दा भगवती न्यौपानेलाई मन्त्री उपहार
काठमाडौँ । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन् । संघीय मामिला मन्त्री रहेका राजकुमार गुप्ताले 'घुस डिल' गरेको अडिओ सार्वजनिक भएपछि मंगलबार राजीनामा दिएका छन् ।
गुप्ताले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन् । नेकपा एमालेले राष्ट्रिय सभा सदस्य रहेकी न्यौपानेलाई मन्त्री बनाउने निर्णय गरेको हो ।
वि.स. २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भएकी न्यौपाने २०७६ सालमा राष्ट्रिय सभामा निर्वाचित भएकी थिइन् । भानु नगरपालिकामा न्यौपानेले ९ हजार ६४ पद पाउँदा नेपाली काँग्रेसका उदयराज गौलीले ९ हजार ५३८ पद पाउँदै निर्वाचित भएका थिए ।
राष्ट्रिय सभामा महिलातर्फ न्यौपानेलले ३ हजार ३ सय ६६ मतभारसहित निर्वाचित भइन् । काँग्रेसकी विमला गौचनले २ हजार ३ सय ४० मत भार पाएकी थिइन् । न्यौपानेसँग गण्डकीबाट तत्कालीन नेकपा र अहिले माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निर्वाचित भएका थिए । न्यौपाने र श्रेष्ठ निर्वाचित हुँदा एमाले र माओवादी एउटै थियो ।
राष्ट्रिय सभाको कार्यकाल सकिन करिब ७ महिना बाँकी हुँदा भगवतीले मन्त्री उपहार पाएकी हुन् । उनी राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतकसमेत थिइन् ।
गोर्खा क्याम्पसमा अध्ययनको क्रममा अनेरास्ववियुको राजनीतिमा लागेकी न्यौपाने त्यसयता निरन्तर राजनीतिमा छिन् । उनी अनेमसंघको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, नेकपा एमाले तनहुँको जिल्ला कमिटि सदस्य, सचिव हुँदै चितवनमा सम्पन्न एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।