भाषाभाषीतर्फको चौथो सिल्भर म्युजिक अवार्ड गायक रत्नदिप चौधरीलाई

काठमाडौँ ।  गायक रत्नदिप चौधरी भाषाभाषीतर्फको चौथो सिल्भर म्युजिक अवार्डबाट सम्मानित भएका छन् । 
प्रियसी म्युजिकको आयोजनामा काठमाडौँमा सम्पन्न भएको चौथो सिल्भर म्युजिक अवार्ड २०२५ बाट गायक चौधरी सर्वोत्कृष्ट भाषाभाषीतर्फ गायक रत्नदिप चौधरी (नथिया वाली)बाट सम्मानित भएका हुन् । 
म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बविता श्रेष्ठको अध्यक्षतामा ‘चौथो सिल्भर म्युजिक अवार्ड’ चलचित्र विकास बोर्डको हलमा सम्पन्न भएको हो । 
संघीय सांसद तथा संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति अमर बहादुर थापाको प्रमुख आतिथ्यमा उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको थियो । अवार्ड कार्यक्रम गीतसङ्गीत र चलचित्रका विभिन्न ३० विधामा आयोजना गरिएको थियो ।
अवार्डमा गीतसङ्गीत क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका कलाकार एवं पत्रकारहरूलाई सम्मान समेत गरिएको थियो । 

चौथो सिल्भर म्युजिक अवार्डमा चर्चित अभिनेता केदार प्रसाद घिमिरे 'माग्ने बुढा'को संयोजकत्वमा निर्देशक दिवाकर भट्टराई, नृत्य निर्देशक केशव कोइराला, निर्देशक उमेश गुरुङ, अभिनेता ध्रुव न्यौपाने, गायिका शान्ति कुमारी शाही, मोडल सञ्चिता शाही निर्णायक मण्डलमा रहेका थिए । कार्यक्रममा चर्चित कलाकारहरूको प्रस्तुति रहेको थियो ।