यो वर्षभित्र हुलाक टिकट सुरक्षित मुद्रण केन्द्रले छाप्ने तयारीमा छौँ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यस वर्षदेखि हुलाक टिकट सञ्चार मन्त्रालय अन्र्तगत प्रकाशन गरिने बताएका छन् । 

हुलाक सेवा विभागले आज प्रकाशन गरेको नयाँ  १४ वटा टिकटका आवरणमा टाँचा प्रदान गरेपछि मन्त्री गुरुङले यस्तो जानकारी दिएका हुन् । हुलाक सेवा विभागले अहिले सम्म जनक शिक्षा सामाग्रीद्धारा टिकट प्रकाशन गर्दै आएको भएपनि अब मन्त्रालयले नै छाप्ने तयारी भएको मन्त्री गुरुङले बताए । उनका अनुसार बैंकको नोट बाहेक अरु आवश्यक राष्ट्रिय कागजातहरु मन्त्रालय अन्र्तगतको सुरक्षण मुद्रण केन्द्रले प्रकाशन गर्नेछ । उनले कार्यक्रममा हुलाक टिकटमार्फत मुलुकको कला, संस्कृति, इतिहास र रैथाने परम्परा तथा बालिनाली संरक्षण जरुरी रहेको पनि बताए ।

विभागले ल्याएको नयाँ टिकटहरुमा नेपालका जात्राहरु अन्र्तगत विस्केट, हाँडीगाउँ, गाईजात्रा, मन्दीरहरुमा बालकुमारी मन्दीर(ठेचो ललितपुर), सप्त देवल (दैलेख), कोटदेवि मन्दिर(चाँगुनारायण, भक्तपुर), भीमसेन मन्दिर(गोरखा), बैतेश्वर महादेव मन्दिर(दोलखा), नेपालका प्राचीन प्रस्तर मूर्ति अन्र्तगत भगवान विष्णु कौडेना सर्लाही ब, बाह्रौ/तेह्रौ शताब्दी र श्रीस्वस्थानीको प्रस्तर मुर्ति काठमाडौँ, त्यसै गरि, नेपालका शिक्षाविद्हरु अन्र्तगत ई.कुल रत्न तुलाधर, शंकरदेव पन्त, पं.ऋषिराम पन्थी गरि १४ वटा टिकट रहेका छन् । 

कार्यक्रममा विभागले प्रकाशनमा ल्याएको पुस्तक “नेपाल हुलाक टिकट (विं.स १९३५–२०८२) पनि लोकार्पण गरिएको छ । उक्त पुस्तकमा हुलाक घर नाम भएदेखि सुरु गरिएको विं.स १९३५ देखि २०८२ सम्म प्रकाशन भएका हुलाकका टिकटहरूको विवरण उल्लेख छ ।

विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक मुलुकको इतिहास स्मरण गराउने एउटा सुन्दर दस्तावेज समेत बन्दै आएको बताए । उनले देशविदेशमा प्रचार गर्ने र पर्यटन प्रवद्र्धनमा हुलाकको भुमिका प्रभावकारी बनाउन आफु प्रयत्नशील रहेको जानकारी दिए ।