बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानको अध्यक्षमा पौडेल

काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)को अध्यक्षमा तिलोत्तम पौडेल चयन भएका छन् । पौडेल  सिजपको सदस्य संस्था जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तथा जागृति बाल क्लब नेपालका संस्थापक हुन् । 
काठमाडौँमा सम्पन्न भएको २३औँ स्थापना दिवस तथा नवौँ अधिवेशन एवं साधारण सभाले पौडेलको नेतृत्वमा नयाँ नेतृत्व चयन भएको हो । अधिवेशनले सिजपको उपाध्यक्ष द्वयमा हेमराज जोशी र ममता झा, महासचिवमा राजु घिमिरे, कोषाध्यक्षमा सम्झना कुमारी मल्ललाई चयन गरेको छ । 
यसैगरी, सदस्यहरूमा गीता अधिकारी (कोशी), सञ्जयकुमार कुशवाहा (मधेश), शिवप्रसाद खकुरेल (बागमती), केशवप्रसाद पौडेल (गण्डकी), शिवलाल पाण्डे (लुम्बिनी), केशव आचार्य (कर्णाली),  गीताकुमारी रावल (सुदूरपश्चिम), पिंकी सिङ राणा (खुल्ला), शान्ताकुमारी दाहाल (खुल्ला) र कुञ्जनी परियार प्यासी (खुल्ला) निर्वाचित भएका सिजपमा महासचिव राजु घिमिरे रहेका छन् । द्वन्द्व, हिंसा, असुरक्षाबाट बालबालिकालाई जोगाउनुपर्ने, विद्यालय र बालबालिका शान्ति क्षेत्र हुन्, उनीहरूको बाँच्न पाउने, संरक्षण, विकास र सहभागिताको अधिकारको सुनिश्चितको पैरवी गर्दै २०६० मा भाद्र ३ गते सिजप स्थापना भएको हो । 
सातै प्रदेशका ५० जिल्लामा रहेका ९८ सदस्य संस्थाहरूको सहभागितामा सम्पन्न भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँ, सिजपका परिकल्पनाकार गौरी प्रधान, पूर्व अध्यक्ष माधव प्रधान, डा. कृष्ण सुवेदी, नरेन्द्र डंगोल, बालिका प्रतिनिधि कृशाङ्गी अर्याल, सेभ द चिल्ड्रेनका अर्जुन थापाको उपस्थिति तथा मिना शर्माको अध्यक्षतामा सम्पन्न साधारणसभा तथा अधिवेशनले सिजपलाई सातै प्रदेशमा संरचनागत ढङ्गबाट विस्तार गर्ने, बजेट कोड, बालबालिकाको लागि स्वतन्त्र उच्चस्तरीय संयन्त्र निर्माण, बालबालिकामा लगानी वृद्धि, बालबालिका राष्ट्रिय गौरव हुन, बालविवाह अन्त्य, बालश्रममुक्त, बालमैत्री देश निर्माणको अभियानमा योगदान पुर्‍याउने निष्कर्ष समेत निकालेको छ ।