चन्द्र कुवेर खापुङ बने नेपाल प्रहरीको ३२औं आईजीपी

काठमाडौँ । सरकारले प्रहरी महानिरीक्षक(आईजीपी)मा चन्द्र कुवेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को

बैठकले हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) प्रमुखका रूपमा रहेका एआईजी खापुङलाई नयाँ आईजीपी नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

यो निर्णयसँगै उनी भदौ १८ गतेदेखि नेपाल प्रहरीको ३२ औं महानिरीक्षकको जिम्मेवारीमा हुनेछन् । तेह्रथुममा जन्मेका खापुङ २०५२ सालमा नेपाल प्रहरीको सेवामा प्रवेश गरेका थिए । 

हाल केन्द्रीय अनुसन्धान ब्युरो प्रमुखको जिम्मेवारीमा रहेका ५५ वर्षीय खापुङ यसअघि प्रधानमन्त्रीको सुरक्षा प्रमुखको जिम्मेवारीमा समेत थिए । त्यस्तै उनीसँग यूएन मिसनमा हाइटीमा दुई पटक सेवादेखि प्रहरी प्रधान कार्यालयको कमर्चारी प्रशासन प्रमुखसम्मको अनुभव छ ।

इटाली, कोरिया, भियतनाम र चीनबाट विभिन्न सुरक्षासम्बन्धी तालिम लिएका खापुङसँग काठमाडौं उपत्यका अपराध महाशाखा प्रमुख र कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् ।