अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की, आजै शपथ गराउने तयारी

काठमाडौँ । अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आजै शपथ लपने भएका छन् ।

राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा ८:४५ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलेलले बताए ।

'पहिला राष्ट्रपतिज्यूले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीज्‍यलाई नियुक्त गर्नुहुन्छ । त्यसपछि नयाँ प्रधानमन्त्री ज्‍यूले मन्त्रिपरिषद्को काम अगाडि बढाउनु हुन्छ', उनले भने । पोखरेलका अनुसार त्यसलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक बस्नेछ । त्यही बैठकले संसद् विघटनको निर्णय गरी स्वीकृतिको निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ । उनले भने, 'मन्त्रिपरिषद्ले संसद् विघटनको सिफारिस गरेपछि राष्ट्रपतिबाट स्वीकृत हुनेछ ।'

आन्दोलनरत जेन-जी युवाहरूको मागअनुरूप संसद् विघटन गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको हो । राष्ट्रपति रामचन्द्र पौडेल र जेन-जी युवाहरूबाट प्रधानमन्त्रीमा प्रस्तावित पूर्व प्रधानन्यायाधीश कार्कीबीच कसको सिफारिसमा संसद् भङ्ग गर्ने भन्नेबारे कुरा मिल्न नसकेपछि प्रधानमन्त्री नियुक्तिमा विलम्ब भइरहेको थियो ।

राष्ट्रपति पौडेलले कार्कीलाई 'म तपाईँलाई प्रधानमन्त्री नियुक्त गर्छु' र प्रधानमन्त्री भएपछि पहिलो मन्त्रिपरिषद् बैठकबाटै संसद् विघटन र निर्वाचन मिति निर्णय गरी ल्याउनू भनेका थिए । तर आन्दोलनरत जेन-जीका प्रतिनिधिहरू संसद् विघटन गरेर मात्र अन्तरिम सरकार गठन हुने मागमा अडिग रहे । त्यही आधारमा वार्ता लम्बिँदै गएको थियो ।

अन्तत: राति जेन-जीकै मागअनुरूप संसद् विघटन गरेर कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको हो ।