सुमना श्रेष्ठले छाडिन राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छाडेकी छन् । उनले आइतबार पार्टी परित्यागको घोषणा गरेकी हुन् । पार्टी केन्द्रीय समितिलाई समेत जानकारी गराउँदै श्रेष्ठले नेतृत्वप्रति गम्भीर असन्तुष्टि प्रकट गरेकी छन् ।
‘कहिल्यै गल्ती नस्विकार्ने । गल्तीमाथि फेरि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोक्नुपर्ने । पार्टीभित्र आलोचना गर्नेहरू विरुद्ध मिडिया ट्रायल गर्ने । जबदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो', सामाजिक सञ्जालमा उनले भनेकी छिन्, 'त्यतिबाटै मैले आलोचना गर्दै आएको छु । तर त्यसले कतै पनि फरक परेन; उल्टै मिडिया ट्रायल हुन थालेको छ । यो स्वीकार्य छैन,सामाजिक सञ्जालमा उनले लेखेकी छन् ।'
जेनजी आन्दोलनपछि मुलुकको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकी छन् । उनी नियुक्ति हुँदा सुमना पनि सँगै भएकाले सुमना मन्त्री हुन लागेको चर्चा पनि चलेको थियो । यद्यपि, अन्तरिम सरकारको मन्त्रीमा आफू जाने कुरा सत्य नभएको सुमनाले बताएकी थिइन् ।