स्वास्थ्य क्षेत्रका जनशक्तिलाई सन्तुष्ट बनाएर काम गर्छु : स्वास्थ्य मन्त्री मेहता

काठमाडौँ। नवनियुक्त  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले आफ्नो प्राथमिकता जनता र स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई सन्तुष्ट बनाउनेमा रहने बताएकी छन्। 

पद बहालीपछि मन्त्री मेहताले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई सन्तुष्ट बनाउन सकेमा मात्रै उनीहरूले शत प्रतिशत काम गर्न सक्ने र जनताले उचित सेवा पाउने बताएकी हुन्। 

उनले नातावाद,कृपावाद र परिवारवादको प्रभावबाट आफू टाढा रहने र कर्मचारीहरुलाई पनि टाढा रहन निर्देशन समेत दिइन्। कर्मचारीहरूको कार्यक्षमता अनुसारका निर्णय लिइने उनले बताइन्। स्वास्थ्य क्षेत्रमा  सामान्य मर्मत सम्भार गरेर पनि चल्ने सामग्रीहरूलाई खरिद गर्नतर्फ बढी लाग्ने परिपाटी रहेको उनको धारणा छ । सामानको मर्मत सम्भारका लागि बजेट छुटाउने परिपाटी नभएको बताउँदै उनले मर्मततर्फ बजेट छुट्याएमा खरिद कम हुने स्थिति आउने बताइन्।

नर्सहरूले आफ्नो विशिष्टीकृत क्षमता अनुसार काम काम नपाएको तथा चिकित्सकहरूको समेत तलब लगायतका सेवा सुविधामा समस्या रहेको उनले बताइन्। पछिल्लो समय स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई सामान्य हौसला समेत नहुँदा उनीहरू बिदेसिने स्थिति रहेको उनले बताइन्। यस्तो स्थितिमा स्वास्थ्य जनशक्तिलाई स्वदेशमा नै बस्न सक्ने वातावरणका लागि हौसला प्रदान गर्नुपर्ने उनको धारणा छ।