कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र न्यायिक सिद्धान्तविपरीतः एमाले
काठमाडौँ । नेकपा एमालेले कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायिक सिद्धान्त विपरीत रहेको ठहर गर्दै अस्वीकार गरेको छ।
एमालेले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको न्यायिक आयोगको प्रतिवेदन अस्वीकार गरेको हो। पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछि आकस्मिकरुपमा बसेको सचिवालय बैठकले कार्की आयोगको प्रतिवेदन अस्वीकार गर्ने निर्णय गरेको हो।
महासचिव शंकर पोखेरलले आयोगको प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायिक सिद्धान्त विपरीत रहेको ठहर गर्दै अस्वीकार गरेको बताए। बैठकले बहालवाला सर्वोच्च अदालतका न्यायाधीशको अध्यक्षतामा अर्को न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गरेको पनि पोखरेलले बताए।
कार्की नेतृत्वको आयोगको सिफारिसमा प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार एकाबिहानै भक्तपुरस्थित आ-आफ्नो निवासबाट पक्राउ गरेको थियो। उनीहरूको पक्राउलाई एमालेले लोकतान्त्रिक मूल्य र कानूनी शासनको विपरीत रहेको ठहर गरेको छ। उनीहरूको पक्राउविरुद्ध एमालेले देशभर प्रदर्शन गर्ने निर्णय पनि गरेको छ।
पार्टीले प्रदर्शनसँगै अन्य राजनीतिक दल, नागरिक समाजसँग छलफल गरेर कानुनी र राजनीतिक लडाई लड्ने निर्णय पनि गरेको महासचिव पोखरेलले जानकारी दिए। जसका लागि नेताहरूलाई विभिन्न जिम्मेवारी दिइएको छ। जसअनुसार राजनीतिक दलसँग संयोजन गर्न उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी दिइएको छ।
संसदीय दलहरूसँग संवाद गर्न अर्का उपाध्यक्ष रामबहादुर थापा बादललाई जिम्मेवारी तोकिएको छ भने कानुनी प्रतिकारका लागि उपाध्यक्ष गोकर्ण विष्टलाई जिम्मेवारी दिइएको छ। साथै जनपरिचालनको जिम्मेवारी पार्टी केन्द्रीय कार्यालयबाट हुने पोखरेलले बताए।