२८ साउन २०८३, बिहिबार
13 August , 2026,Thursday

फागुन १६ गतेदेखि प्रथम जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

ललितपुर । आगामी फागुन १६ गतेदेखि  प्रथम जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ ।

नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवर्द्धन, सम्भावना र अवसरको खोजी गर्ने उद्देश्यले प्रथम जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजना गरिएको मंगलबार आयोजकले एक कार्यक्रमको आयोजना गरी जानकारी दिएको हो । 

संवाद फाउन्डेसनको आयोजना हुन गइरहेको महोत्सवको बारेमा जानकारी दिन आयोजकले चलचित्रकर्मी र सञ्चारकर्मीको उपस्थितिमा ललितपुरमा एक कार्यक्रमको आयोजना गरेको थियो । त्यस कार्यक्रममा आगामी फागुन १६ देखि १८ सम्म प्रथम चलचित्र महोत्सव हुने जानकारी दिएको हो ।


त्यस अवसरमा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सव नेपाली र मिथिला चलचित्रलाई विश्वमा बजारीकरण गर्न महत्त्वपूर्ण माध्यम हुने विश्वास व्यक्त गरे । उनले भने, 'जनकपुरले मिथिलाञ्चललाई प्रतिनिधित्व गर्छ, महोत्सवले यसलाई उजागर गर्नेछ । विश्वका एक सय ३७ भन्दा बढी देशले हाम्रो चलचित्रका बारेमा थाहा पाउनेछन् ।' उनले पैसा कमाउने उद्देश्य राखेर महोत्सव गर्नु उचित नभएको भन्दै यस्ता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई अरू क्षेत्रको बजेट कटौती गरेर पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेपाली सिनेमा निर्माणको प्रक्रिया बदलिनुपर्ने बताए । 'नेपाली सिनेमा कता-कता एकाङ्की पो छ कि भन्ने मलाई लागेको छ, मैले फरक भूगोल, फरक विषयको चित्रण गर्ने परिपाटीको अभाव भएको महसुस गरेको छु', उनले भने, 'स्थानीय परिवेशका कुरालाई हामीले सिनेमामा बुझाउन सकिरहेका छैनौँ, आशा छ, जनकपुरमा हुने यो कार्यक्रमले नयाँपन खोज्ने छ ।' अध्यक्ष झाले महोत्सवले नेपाली चलचित्र निर्मातालाई स्थानीय कथा खोजीमा प्रेरित गर्ने विश्वास व्यक्त गर्दै भविष्यमा नेपाली सिनेमालाई दिगो र अन्तर्राष्ट्रियकरण गर्न पनि निकै ठुलो सहयोग पुग्ने धारणा राखे ।


यसैगरी कार्यक्रममा अभिनेत्री रेखा थापाले मिथिला सभ्यता, कला र महिलाको जननी भएको बताउँदै महोत्सवले त्यो महत्वलाई उजागर गर्ने बताइन् । उनले भनिन्, 'मधेशको कलासँग प्रगाढ सम्बन्ध छ । पछिल्लो समय हाम्रो संस्कृति र भाषामाथि आक्रमण भएको छ, यसलाई चिर्नु आवश्यक छ ।'

त्यस अवसरमा निर्माता माधव वाग्लेले मिथिला सभ्यताको चित्र कोर्न धेरै महँगो हुने भएकाले आफूहरूलाई मिथिला क्षेत्रको कथा समेटेर चलचित्र निर्माणमा समस्या भइरहेको सुनाए । यस्तै चलचित्र निर्देशक सुवर्ण थापाले महोत्सवले हिमाल, पहाड र तराईलाई जोड्दै बालबालिका, युवा, महिलालगायतलाई समेट्नुपर्नेमा जोड दिए ।


संवाद फाउन्डेसनका प्रमुख कुमार भास्करले जेआइएफएफ नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण, युवा फिल्मकर्मीलाई उत्प्रेरित गर्ने र सांस्कृतिक विविधताको प्रवर्द्धन गर्ने अभिप्रायले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।

नेपालमा फिल्मको महत्त्व बुझाउने, नेपाली चलचित्रलाई विश्वभर प्रस्तुत गर्ने, नेपाली युवालाई प्रेरणा र अवसर दिने तथा नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र मञ्चमा स्थापित गर्ने अभियान स्वरूप आफूहरू लागेको उनले बताएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्