भारत प्रवेश गरे काठमाडौँबाट भागेका १० भारतीयसहित ११ कैदीबन्दी
काठमाडौँ । जेन्जी समूहले गरेको आन्दोलन क्रममा भदौ २४ गते काठमाडौँका विभिन्न जेलमा रहेका १० भारतीय र १ बंगलादेशी नागरिक भारत छिरेका छन् । लागुऔषध, हत्या र सुन तस्करीको मुद्दामा कैद फैसला भएका १० भारतीय भारत छिरेका हुन् । उनीहरूमध्ये एक जना रक्सौलको परेउंवाका छन् ।
उनीहरू नेपाल–भारत सीमा बजार वीरगन्ज–रक्सौल आसपासका ग्रामीण भेगबाट भारतीय शहर रक्सौल प्रवेश गरेको पाइएको छ । उनीहरू भारत प्रवेश गरी घर पुगेका छन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उनीहरूको रेकर्ड राखेको छ ।
यस्तै, नेपालमा सुन तस्करी गरेको मुद्दामा सजाय भोगिरहेका बंगलादेशी नागरिक नेपाल भारत सीमा अन्तर्गत रक्सौलमा पक्राउ परेका छन् । ५ वर्षअघि जेल सजाय तोकिएका बंगलादेशका नागरिक मोहम्मद अब्दल हसन थाली नेपाल भारत सीमा अन्तर्गत रक्सौलको सीमा नाकामा पक्राउ परेका हुन् । उनी सोमबार काठमाडौँमा जेल तोडफोड भएर कैदीबन्दी भाग्ने क्रममा भागेर भारतीय सीमा हुँदै बंगलादेश जान खोजिरहेका थिए ।
सीमा सुरक्षा बल (एसएसबी)को ४७ औँ बटालियनले सीमामा आवतजावत गर्नेलाई गर्ने चेकजाँचका क्रममा उनी समातिएपछि नेपाल प्रहरीलाई जिम्मा लगाएर काठमाडौँ ल्याउने तयारी भइरहेको छ । उनले आफू सुन तस्करी मुद्दामा केन्द्रीय कारागारमा रहेको, सबै भाग्दा आफू पनि भागेर आएको बताएका छन् ।
जेन्जी आन्दोलन रोकिए पनि नेपाल भारत सीमाका ग्रामीण क्षेत्रमा प्रहरी चौकी विस्थापित हुँदा काठमाडौँबाट भागेका कैदीबन्दी निर्बाध भारत छिरेका हुन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पक्राउ गरेको सङ्ख्याले यस्तो तथ्य बाहिर आएको हो ।
रक्सौलसँग जोडिएको नेपालको सिवान टोला, अलौ, धूपवा टोलाका प्रहरी र सशस्त्र प्रहरीको चौकी जलाइएपछि त्यहाँबाट भारत प्रवेशमा सहज बनेको पाइएको छ । वीरगन्जकै चाण्डाल चोक आइसिपी गेटको अस्थायी प्रहरी पोस्टसमेत जलेपछि भारत प्रवेशमा अरू सहज बनेको पाइएको छ ।