१२ चैत २०८२, बिहिबार
26 March , 2026,Thursday

बाढी, पहिरोपछिको पुनर्निर्माण र पुनःव्यवस्थापनका काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री

तस्बिरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनर्निर्माण र पुनः व्यवस्थापनका काम अघि बढाइने बताएका छन् ।
प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनःनिर्माणबारे आज प्रधानमन्त्री निवास, बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलबाट दिइएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत र अस्थायी आवास तथा पुलहरू निर्माणबारे निर्णयहरू गरिने जानकारी गराए ।
प्रधानमन्त्री ओलीले बाढी र पहिरोका कारण काठमाडौँ जोड्ने विभिन्न सडकहरू अवरुद्ध बनेकामा सोचेभन्दा छिटो गतिमा काम गरेर अस्थायीरूपमा सडक सञ्चालनमा आएको उल्लेख गरे । 
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमेत सहभागी कार्यक्रममा उनले सीमित बजेटका बाबजुद सकभर मागेर भन्दा आफ्नै बुँतामा पुनः निर्माण र पुनः व्यवस्थापनका कामहरू गर्नुपर्नेमा जोड दिँदै फलाम खानी खुल्ने क्रममा रहेकाले सञ्चालनमा आएपछि बेलिब्रिजलगायत फलामका कच्चा पदार्थ स्वदेशमै उत्पादन हुने बताए ।
टोलीले खोटाङलाई तराई हुँदै प्रदेशको राजधानी जोड्ने सुनकोशी नदीको एकमात्र मोटरेबल फोक्सिङटार पुल सञ्चालनमा आएको दुई वर्ष नपुग्दै बाढीले बगाएकाले जिल्ला नै प्राकृतिक नाकाबन्दीमा परेको प्रधानमन्त्री ओलीलाई अवगत गराएको छ । टोलीमा प्रतिनिधिसभा सदस्यहरू रामकुमार राई, सरस्वती बजिमय, पूर्वमन्त्री उषाकला राई, प्रदेश सांसदहरू, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईलगायत थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्