मध्यविन्दुमा बालअधिकार र बालमैत्री सम्बन्धी अभिमुखीकरण
नवलपुर । मध्यविन्दु नगरपालिका–३ मा वडा स्तरीय बाल सञ्जालका पदाधिकारीहरूलाई बाल अधिकार, बालमैत्री स्थानीय शासन र किशोरी अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जागृति बाल तथा युवा सरोकार नेपालले मध्यविन्दु नगरपालिकामा सञ्चालित किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत सो कार्यक्रम सम्पन्न गरिएको कार्यक्रम अधिकृत राधा बोटेले बताए ।
अभिमुखीकरण शत्रमा 'बालबालिका भनेको को हो', 'बाल अधिकारको पृष्ठभूमि', 'बाल अधिकारका चार खम्बा', 'बाल क्लबको भूमिका र दायित्व' साथै 'बालमैत्री स्थानीय शासन' सम्बन्धी विषयवस्तुमा जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले सहजीकरण गरेका थिए । उनले संविधानमा पनि बाल अधिकारलाई मौलिक हकमा समावेश गरेकोले स्थानीय सरकार अझै जिम्मेवार हुनुपर्ने बताएका थिए ।
किशोरी अधिकार र किशोरी अधिकार संरक्षणको लागि बाल क्लबले खेल्नुपर्ने भूमिकाको बारेमा किशोरी अभियन्ता जेशिका महतो र शिवानी सापकोटाले सहजीकरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि मध्यविन्दु-३ का वडाध्यक्ष मानबहादुर महतोले बाल क्लब र किशोर–किशोरीहरूले आफैँ योजना बनाएर अघि बढ्ने कार्यक्रमहरूमा वडा कार्यालयले आवश्यक समन्वय र आर्थिक सहयोग गर्न सधैँ तयार रहेको धारणा व्यक्त गरे । बालबालिकाले आफ्नो अधिकारसँगै समुदायमा हुने विभिन्न नकारात्मक गतिविधिहरू न्यूनीकरणमा पनि सक्रिय भूमिका खेल्नुपर्ने कुरामा उनले जोड दिए ।
कार्यक्रमको अध्यक्षता गर्नुभएको प्रतीक नेपालले यस्ता कार्यक्रम बालबालिकाका लागि सिकाइ र सहभागिता अभिवृद्धि गर्ने अवसर भएको उल्लेख गर्दै आगामी दिनमा समेत वडामा यस्ता कार्यक्रम निरन्तर आयोजना हुनुपर्नेमा जोड दिए । कार्यक्रम मध्यविन्दु वडा नं. ३ को कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।