२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

माटो र पृथ्वीलाई जोगाउने काममा सरकारको ध्यान जानुपर्छ: सांसद राई

काठमाडौँ । सांसद जयन्तीदेवी राईले नेपालको पर्यटकीय क्षेत्रका रूपमा चिनिएको सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा तीन दिनसम्म भएको निरन्तर वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले भने, 'नेपालको पर्यटकीय क्षेत्रका रूपमा हामीले चिनिरहेको सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा दुई वटा हिमताल फुटेर तहसनहस भएको छ, मानवीय क्षति भएको छ ।'
हिमताल फुट्दा विद्यालय, स्वास्थ्य चौकी र पुल भत्किएको तथा एक जना बेपत्ता भएको, सरकारी कार्यालयलगायत सबै क्षेत्रको भौतिक पूर्वाधारमा क्षति पुग्नाका साथै दर्जनौँ घर बगाएको उल्लेख गर्दै सांसद राईले सरकारले तत्काल सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्ने माग गरे । 'पुल भत्किएकाले स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ, हिमाली क्षेत्र भएका कारण त्यस ठाउँमा कोही पनि जान सक्ने अवस्था छैन, बस्ती पूरै ध्वस्त भएकाले अन्यत्र बसोबासको व्यवस्था गर्न आग्रह गर्दछु', उनले भने ।
जीवनयापनका लागि तत्काल खाद्यान्न व्यवस्थाका साथै हराइरहेकाको खोजी कार्यमा तीव्रता दिनुपर्ने सांसद राईको माग छ । 'हिमाली क्षेत्र असुरक्षित हुनु हामी सबै मानव जातिको पनि असुरक्षा बढ्दै जानु हो, माटो र पृथ्वीलाई जोगाउने काममा सरकारको ध्यान जानुपर्छ', उनले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्