२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

जलवायु परिवर्तनको असरबाट सांस्कृतिक सम्पदाहरू जोगाउनुपर्छ: मन्त्री पाण्डे

फाइल फोटो

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले जलवायु परिवर्तनको असरबाट सांस्कृतिक सम्पदाहरू जोगाउनुपर्ने बताएका छन् । 

जलवायु परिवर्तनका कारण बाढी, डढेलो, खडेरी तथा समुन्द्र सतह वृद्धि भइरहेका बेला सांस्कृतिक सम्पदाहरूको संरक्षणमा ध्यान दिनुपर्ने मन्त्री पाण्डेले बताएका हुन् । त्रिभुवन विश्वविद्यालयको संस्कृति विभाग, युनेस्को, एशिया प्रशान्त क्षेत्रको उच्च शिक्षा सञ्जाललगायतका संस्थाले राजधानीमा संयुक्तरूपमा आयोजना गरेको प्रकोप र जलवायु परिवर्तनको सन्दर्भमा समुदायको सहनशीलता निर्माणमा अमूर्त सांस्कृतिक सम्पदाको भूमिका विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले परम्परागत ज्ञानलाई आधुनिक विज्ञानसँग एकीकृत गरेर पूर्व तयारी, न्यूनीकरण, र अनुकूलनका  रणनीतिहरू विकास गर्न सकिने उल्लेख गर्दै बाढीको अवस्थाबारे आदिवासी ज्ञानलाई भूउपग्रह प्रविधिसँग जोडेर सटिक रूपमा पूर्व सूचना  प्रदान गर्न सकिने बताए ।

सम्बोधनका क्रममा मन्त्री पाण्डेले अहिलेको विश्व गम्भीर रूपान्तरणको अवस्थामा रहेको र जलवायु परिवर्तन अब कुनै टाढाको खतरा नभई वर्तमान अवस्थाको वास्तविकता भएको उल्लेख गर्दै यसबाट समाजले बारम्बार बाढी, डढेलो, खडेरी र समुन्द्र सतह वृद्धिजस्ता प्रकोप झेल्नु परिरहेको र संवेदनशील क्षेत्रका समुदायहरू यी जोखिमको अग्र भागमा रहेको बताए ।

एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुने परम्परा, भाषा, अनुष्ठान, ज्ञान प्रणाली, र कला अमूर्त सांस्कृतिक सम्पदाहरू भएको र यिनीहरू हाम्रो पहिचानको आधार भएको उल्लेख गर्दै मन्त्री पाण्डेले भने, 'यसले हामीलाई संसारलाई कसरी हेरिरहेका छौँ ,प्रकृतिसँग कसरी अन्तरक्रिया गरिरहेका छौँ, सङ्कटमा हामी कसरी प्रतिक्रिया दिन्छौँ भन्ने कुरा निर्धारण गर्ने छ । प्रकोप र जलवायु परिवर्तनको सन्दर्भमा यी सम्पदा हाम्रा लागि अझ बढी मूल्यवान् छन् ।'

उनले संसारभरका मानिसले आफ्नो वातावरणमा अनुकूलन गर्नका लागि शताब्दीयौँदेखि जटिल ज्ञान र अभ्यासका प्रणालीहरू विकास गरेको उल्लेख गर्दै कृषि कर्मका बेला गरिने पूजापाठ वा अनुष्ठान तथा प्रकृतिको चक्रसँग तालमेल गरी बाली लगाउने परम्परा यसको उदाहरण रहेको बताए ।

हाम्रा सांस्कृतिक सम्पदाहरूमा यस्ता प्रकोपहरूसँग कसरी अनुकूलन गर्न सकिन्छ भन्ने ज्ञानको भण्डार रहेको र यस्ता ज्ञानले सङ्कटका समयमा जीवित रहन महत्त्वपूर्ण भूमिका खेल्न उल्लेख गर्दै मन्त्री पाण्डेले जलवायु परिवर्तनको असरहरूको  सामना गर्न यी अभ्यासहरू आवश्यक रहेको कुरामा जोड दिए ।

आदिवासी परम्परामा निहित ज्ञानले हामीलाई हाम्रो वातावरणसँग बढी दिगो र समर्पित सम्बन्ध विस्तारतर्फ अग्रसर गराउन सक्ने उल्लेख गर्दै मन्त्री पाण्डेले तर यी अभ्यासहरू बढ्दो आधुनिकता,शहरीकरण, र जलवायु परिवर्तनका कारण मानिसहरू विस्थापित हुने समस्यासँगै ज्ञानहरू लोप हुने हराउने खतरा रहेको हुँदा यी ज्ञानलाई बचाउन र प्रवर्द्धन गर्नु हाम्रो कर्तव्य भएको उल्लेख गरे ।

अमूर्त सांस्कृतिक सम्पदाले प्रकोपका बेला समुदायहरूलाई आपमा जोडने बन्धनका रूपमा काम गर्ने र यसले सामाजिक संरचना सुदृढ पार्न मद्दत गर्ने उल्लेख गर्दै  प्रकोपको समयमा, एकै खाले सांस्कृतिक अभ्यास र मूल्य मान्यता भएका समुदायहरू यस्ता सङ्कटबाट छिटो सँगै उठ्ने दृष्टान्त दिँदै मन्त्री पाण्डेले चाडपर्व, अनुष्ठान र सामुदायिक परम्पराहरूले सामूहिक रूपमा समस्याका समाधान र एकले अर्कोलाई सहयोगको भावना बढाउने यसले सङ्कटका बेला मानसिक र भावनात्मक रूपमा बलियो हुन मद्दत गर्ने बताए ।

मन्त्री पाण्डेले जापानमा प्राकृतिक प्रकोपपछि परम्परागत काठका संरचनाहरूको वार्षिक पुनर्निर्माण गर्ने परम्पराको उदाहरण प्रस्तुत गर्दै यी कुरा केवल संरक्षणको विषय मात्र नभएर समुदायको एकजुट हुन र एक अर्कासँग र आफ्नो वातावरणसँगको सम्बन्धलाई पुनः पुष्टि गर्ने तरिका भएको बताए ।

त्यस्तै अफ्रिकामा,परम्परागत सङ्गीत र कथा वाचनले प्रकोपका बेला हुने आघात र क्षतिको सामना गर्नमा महत्त्वपूर्ण भूमिका खेल्न उल्लेख गर्दै पूर्वीय सभ्यतामा कथा भन्नु इतिहास  र ज्ञानको हस्तान्तरणको एक हिस्सा भएको उल्लेख गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्