२० जेठ २०८३, बुधबार
3 June , 2026,Wednesday

जलवायु न्यायका लागि संवेदनशील बन्न विश्व समुदायलाई उपप्रधानमन्त्री पौडेलको आग्रह

तस्बिरः अर्थमन्त्रीको सचिवालय

वासिङ्टन डिसी (अमेरिका) । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न स्थापित विश्वव्यापी वित्तीय कोषहरूको  परिचालन प्रणालीलाई सरल र पहुँचयोग्य बनाउन विश्व समुदायसँग आग्रह गरेका छन् ।  
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुने क्रममा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज आयोजित उच्चस्तरीय (सदस्य राष्ट्रका मन्त्रीस्तरीय) बैठकमा आफ्नो धारणा राख्दै जलवायु न्यायका लागि विकास साझेदार र सिंगो अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गरेका हुन् । 
उक्त बैठकमा बोल्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले नेपाल  विश्वमै अद्वितीय जैविक विविधतायुक्त मुलुक रहेको भए तापनि पछिल्लो समय मानव सिर्जित कारणहरूले प्राकृतिक विपत्तिहरूको सामना गर्नुपरिरहेको र यसका लागि थप वित्तीय स्रोत व्यवस्थापनको चुनौती रहेको धारणा राखे । साथै उनले जलवायु परिवर्तनका क्षेत्रमा नेपालको योगदान नगण्य रहेको भए तापनि जलवायु परिवर्तनको प्रतिकूल प्रभावको अंश ठूलो रहेको बताए ।

जैविक विविधता संरक्षण गर्न सरकारले पछिल्लो पाँच वर्षमा वार्षिक औसत ५० मिलियन अमेरिकी डलर खर्च गर्दै आएको भए तापनि  सरकारको प्रयासमा थप वित्तीय स्रोतको आवश्यकता औँल्याउँदै विकास साझेदारहरू र विश्वव्यापी वातावरणीय कोषहरूले सहायता परिचालन प्रणालीमा प्रभाकारिता ल्याउन र यस्ता कोषहरूबाट प्रवाह हुने सहायतालाई राष्ट्रिय बजेट प्रणालीमार्फत प्रवाहित गरी पारदर्शिता र प्रभावकारिता कायम गर्न पनि उपप्रधानमन्त्री पौडेलले जोड दिए । 
उपप्रधानमन्त्री पौडेलले जलवायु न्यायका लागि स्थापित हानि नोक्सानी तथा क्षतिपूर्ति कोषलाई प्रभावकारी रूपमा सञ्चालन गर्न समेत  विश्व समुदायलाई आग्रह गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्