जलवायु परिवर्तनले मुलुकको गरिबी र सामाजिक असमानतालाई थप फराकिलो बनायो: पूर्वराष्ट्रपति भण्डारी
फाइल फोटो
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले नेपाली समाजमा विद्यमान गरिबी र सामाजिक असमानतालाई थप फराकिलो बनाएको बताएका छन् ।
बिहीबार त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताइन् । उनले पछिल्लो समय नेपालमा जलवायु परिवर्तनबाट परेको ठुलो असरले जनजीवन समेत प्रभावित बन्दै गएको उल्लेख गरिन् ।
जलवायु परिवर्तनकै कारण उत्पन्न अतिवृष्टि,अनावृष्टि,बाढी पहिरो,सुख्खा खडेरी जस्ता प्रकोपहरूले गर्दा गरिब किसान तथा विपन्न वर्गको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको उनले बताइन् । पूर्व राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका नकारात्मक प्रभावहरूलाई न्यूनीकरण गर्न अनुकूलन क्षमता वृद्धि गर्न आवश्यक रहेको बताइन् । उनले अनुकूलन क्षमता वृद्धिको लागि अनुसन्धानमा आधारित सूचना र ज्ञानको आवश्यकता रहेको उल्लेख गरिन् ।
भूगोल केन्द्रीय विभाग र अन्य विदेशी विश्वविद्यालय मिलेर जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभावका विषयमा गरेको अनुसन्धानले जलवायु अनुकलन क्षमतामा प्रभाव पार्ने प्रमुख तत्त्वहरूको पहिचान गर्दै सोहीअनुरूप अनुकूलनमा दिगो र प्रभावकारी उपायहरूको अवलम्बन गर्न सहयोग पुग्ने दाबी समेत उनले गरिन् ।
'जलवायु परिवर्तनले हाम्रो समाजमा विद्यमान गरिबी र सामाजिक असमानतालाई समेत थप फराकिलो बनाएको छ । जलवायु परिवर्तनकै कारण उत्पन्न अतिवृष्टि,अनावृष्टि,बाढी पहिरो,सुख्खा खडेरी जस्ता प्रकोपहरूले गर्दा गरिब किसान तथा विपन्न वर्गको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको छ', उनले भनिन्, 'जलवायु परिवर्तनका नकारात्मक प्रभावहरूलाई न्यूनीकरण गर्न अनुकूलन क्षमता वृद्धि गर्नुका लागि अनुसन्धानमा आधारित सूचना र ज्ञानको आवश्यकता पर्छ । यस्ता अनुसन्धानबाट जलवायु अनुकलन क्षमतामा प्रभाव पार्ने प्रमुख तत्त्वहरूको पहिचान गर्दै सोहीअनुरूप अनुकूलनमा दिगो र प्रभावकारी उपायहरूको अवलम्बन गर्न सहयोग पुग्छ ।'
उनले विभिन्न देशहरू सम्मिलित भई गरिएको अध्ययनले किसानलाई जलवायु परिवर्तनका कारण देखिएको चुनौती सामना गर्न सहज हुने अपेक्षा रहेको बताइन् ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?