रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक निरीक्षकको शव भेटियो, बाढीमा परि २० जना बेपत्ता
काठमाडौँ । रसुवामा मंगलबार बिहान आएको बाढीले बेपत्ता भएका इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षकको शव चितवनस्थित त्रिशूली नदी किनारमा फेला परेको छ ।
रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा मंगलबार बिहान आएको बाढीमा परी नेपाली र चिनियाँ नागरिकसहित २० जना बेपत्ता भएका थिए । तीमध्ये रसुवागढी नाकामा रहेको भन्सार यार्डमा काम गर्ने नौ जना कर्मचारी, इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत तीन जना प्रहरीसमेत छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालका अनुसार नदी किनारमा बायाँ खुट्टामा बुट रहेको र दायाँ खुट्टाको घुँडादेखि तलको भाग नभएको अवस्थामा शव भेटिएको थियो ।
अनुसन्धान गर्ने क्रममा उनी रसुवामा बेपत्ता प्रहरी हुन् भन्ने पुष्टि भएको खनालले बताए ।