रसुवा बाढीमा परि मृत्यु हुने नौ जनाको शव भेटियो, १९ अझै बेपत्ता
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएका ९ जनाको शव भेटिएको छ । बाढीमा परेर अहिले पनि १९ जना बेपत्ता छन् ।
मंगलबार बिहानदेखि आएको बाढीमा चपेटमा परेका ५७ जनाको भने उद्धार भएको नेपाल प्रहरीले जानकारी गराएको छ । बेपत्ता हुनेमा ११ जना सर्वसाधारण, २ जना प्रहरी र ६ चिनियाँ नागरिक रहेका छन् ।
बाढीमा बगेर बेपत्ता भएका एक जना प्रहरीको शव भने चितवनमा फेला परेको छ । रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ४ का ४२ वर्षीय प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठको शव भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोमा फेला परेको चितवनका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।
बेपत्ता भएको खोजी कार्यमा ३८३ जना प्रहरी परिचालन गरिएको छ । बाढीबाट रसुवाको गोसाईंकुण्ड गाउँपालिकाको १, २ र ३ वडा, आमाछोदिङ्मो गाउँपालिको १, २, ४ र ५ वडा, उत्तरगया गाउँपालिकाको २, ४ र ५ वडाका साथै कालिका गाउँपालिकाको १ नम्बर वडा सबभन्दा बढी प्रभावित भएका छन् ।
रसुवाको भोटेकोशी नदी (तिब्बततर्फ ल्हेन्दे खोला भनिने ) मा मंगलबार बिहान आएको भीषण बाढीले धनजनको ठूलो क्षति भएको छ । बाढीले नेपाल–चीन जोड्ने सीमा–नाकाको मितेरी पुल नै बगाएपछि दुई देशबीचको सीमा व्यापारसमेत ठप्प भएको छ ।