काठमाडौँ । नेपालमा पहिलो पटक राष्ट्रिय सहकारी मेला आयोजना हुने भएको छ । राष्ट्रिय सहकारी महासंघको आयोजनामा असार ७, ८ र ९ गते तीन दिनसम्म ललितपुरस्थित पुल्चोकमा उक्त मेला आयोजना गर्न लागिएको हो । महासंघले
बुधवार
पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय सहकारी मेलाको सम्बन्धमा जानकारी दिएको हो ।
'मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता' भन्ने नाराका साथ हुन लागेको मेलाको तयारी पूरा भएको बताइएको छ । मेलाको आयोजनाले प्रतिभा पलायन (ब्रेन ड्रेन) रोक्ने, स्वदेशमै रोजगारी सिर्जना गर्न प्रोत्साहन गर्ने वातावरणको विकास गर्ने तथा उत्पादन एवं सेवाका सहकारीहरू र अन्य निजी क्षेत्रका लागि आवश्यक जनशक्ति खोज्न सहजता प्रदान गर्ने विश्वास महासंघको छ । साथै, स्टार्टअपहरू र साना व्यवसायमार्फत स्वरोजगार गर्न चाहनेहरूको लागि नेटवर्किङको कार्य मेलाले गर्ने बताइएको छ ।
सहकारी क्षेत्रका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ विभिन्न संघ संस्थाले सञ्चालन गर्ने व्यावसायिक तालिमहरू, शैक्षिक कोर्सहरू र सीप विकास कार्यक्रमहरूको विषयमा जानकारी गराउँदै मानव संसाधन विकासमा समेत मेलाले योगदान गर्नेछ । जसले देशभित्रै स्वरोजगारीका अवसरहरू सिर्जना गर्दै आएको सहकारी क्षेत्रका विषयमा युवालाई जानकारी गराउने र वैदेशिक रोजगारीको प्रवाह कम उद्यमशीलता विकास गर्न समेत टेवा पुग्ने महासंघले बताएको छ ।
मेलाले समयमा नै जागिर सुरक्षित गर्ने र आफ्नो व्यक्तिगत विवरण अनलाइनमार्फत भरी रोजगारीको अवसरको लाभ लिन सकिने महासंघ अध्यक्ष ओमदेवी मल्लले बताइन् । उनका अनुसार मेलाको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गर्नेछन् ।
मेला अवधिभर सहकारीका ठूलो रोजगारदाताहरूबाट कार्यपत्र प्रस्तुति, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का विज्ञद्वारा करियर काउन्सिलिङका सेसनहरू समेत निरन्तर सञ्चालन हुने जानकारी उनले दिइन् । मेलाको अन्तिम दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालबाट मेलाको समापन हुनेछ ।
मेलाको सह–आयोजकका रूपमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी बैङ्क, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ र नेपाल कृषि सहकारी केन्द्रीय संघ रहेका छन् ।
मेला आयोजनाका लागि वैदेशिक रोजगार बोर्ड, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ, नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापा, साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड चारपाने झापा, मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दमक झापा र साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले सहयोग गरेका छन् ।
मेलामा निःशुल्क प्रवेश गर्न सकिने छ । विश्वविद्यालयदेखि विभिन्न कलेजका विद्यार्थीहरू, रोजगारीको खोजीमा रहेका युवाहरू, प्राविधिक जनशक्तिहरू, सहकारीकर्मीहरू गरी करिब ५ हजारभन्दा बढीले मेलाको अवलोकन गर्ने अनुमान महासंघको छ ।