पहिलो राष्ट्रिय सहकारी मेला सुरु : युवाहरूलाई रोजगारी दिने मन्त्री अधिकारीको भनाई
ललितपुर । मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता भन्ने नाराका साथ प्रथम सहकारी रोजगार मेला २०८१ शुक्रवारदेखि ललितपुरमा सुरु भएको छ । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले आयोजना गरेको तीन दिने रोजगार मेलामा रोजगारीको खोजीमा रहेका युवाहरूलाई सहकारी क्षेत्रका रोजगारदातासँग समन्वय गर्ने माध्यमका रूपमा लिइएको छ ।
युवाहरू अवसर र रोजगारीको खोजीमा विदेशी क्रम बढ्दै गइरहेको अवस्थामा नेपालका सहकारी क्षेत्रमा आबद्ध भई स्वरोजगार हुन सकिने तथा यस क्षेत्रमा पनि रोजगारीको राम्रो अवसर छ भन्ने उद्देश्यका साथ मेला आयोजना गरिएको स्रोतले जनाएको हो । मेलाको उद्घाटन समारोहमा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले युवाहरूको भावना अनुरूप सहकारी क्षेत्रले काम गर्नुपर्ने धारणा व्यक्त गरे । सहकारी रोजगार मेलाले यस क्षेत्रका रोजगारदाता र रोजगारी खोज्ने युवाहरूबिच काम गर्ने उनले विश्वास व्यक्त गरे ।
यसैगरी मन्त्री अधिकारीले एउटै व्यक्ति दुई तीन वटा सहकारीको सञ्चालक रहनु अहिले सहकारी क्षेत्रमा देखिएको समस्याको प्रमुख कारण रहेको समेत धारणा राखे । अर्थतन्त्रको एक मुख्य हिस्सेदारी सहकारी क्षेत्रको प्रमुख समस्या बुझेर सरकार अघि बढ्ने उनको जिकिर थियो । सहकारी क्षेत्रले उत्पादन गरेका वस्तुको बजारी करण गर्ने जिम्मेवारी अबदेखि सरकारले लिने उनले प्रतिबद्धता समेत जनाए ।
कार्यक्रमबारे प्रस्ट पादै राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले देश छोडेर विदेश जाने युवाहरूलाई नेपालको सहकारी क्षेत्रमा स्वरोजगार हुने अवसर र राम्रो सेवा सुविधा सहितको रोजगार छ भने जानकारी गराउन मेला आयोजना गरिएको जानकारी दिइन् ।
अध्यक्ष मल्लले सहकारी क्षेत्रलाई सरकारले प्राथमिकतामा नराखेको गुनासो समेत गरिन् । सहकारीले उत्पादन गरेका वस्तुको बजारीकरण र सहुलियत ऋणको व्यवस्थापन सरकारले नगर्दा यस क्षेत्रका किसानहरू विस्थापित हुने अवस्थामा रहेको उनको भनाई थियो । साथै सहकारीले २५ बढी चिया उद्योग सञ्चालन गर्दै आएको , दैनिक २५ हजार लिटर बढी दूध उत्पादन गदै आएकोमा त्यसका लागि बजार नभएकोले सरकारको त्यसतर्फ ध्यानाकर्षण हुनुपर्ने भनाइ छ।
कार्यक्रममा सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेलले धन्यवाद व्यक्त गरेका थिए । उद्घाटन समारोहमा सहकारी मन्त्रालयका उच्च अधिकारी, नेपाल प्रहरीका उच्च अधिकारी तथा सहकारी क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो । सहकारी रोजगार मेलामा सहकारी क्षेत्रका ३० बढी स्टलहरू रहेका छन् भने मेला अवधिभर पाँच हजार बढीले अवलोकन गर्ने अपेक्षा आयोजक संस्थाले जनाएको छ ।
यसै सन्दर्भमा महासंघले सहकारीको वर्तमान रोजगारी स्थिति र भविष्यका सम्भावनाहरू बिषयक कार्यपत्र पनि प्रस्तुत गरेको थियो । कार्यपत्र प्रस्तुत गदै महासंघकी महाप्रबन्धक चित्रा कुमारी थमसुहाङ सुब्बाले सहकारी क्षेत्रमा एक लाखले प्रत्यक्ष रोजगारी र १० लाख व्यक्ति अप्रत्यक्ष तथा रोजगार र स्वरोजगार बनेका जानकारी दिइन् ।
तथ्याङ्क अनुसार नेपालमा ३१ हजार बढी सहकारी संस्थामा ७४ लाख व्यक्ति संलग्न छन् भने जसमा ५६ प्रतिशत महिला सहभागिता रहेको छ । नेपाल सहकारी क्षेत्रमा बढी व्यक्ति संलग्न हुने दोस्रो मुलुकमा पर्दछ भने पहिलो मुलुक फिलिपिन्स हो ।
पछिल्लो समय केही सहकारी सञ्चालकहरूले बदनाम गरेकोले सहकारी प्रति हेर्ने दृष्टिकोणमा फेरबदल भएको छ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?