राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक भएकाे छ । काठमाडौँको थापाथलीस्थित केन्द्रीय कार्यालयमा शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
उनले सरकारको बजेटको कार्यक्रम, १६औँ योजनालगायतका कुरालाई ख्याल गर्दै लचिलो मौद्रिक नीति तय गरिएको जानकारी दिए । एक साताअघि शुक्रबार नै सार्वजनिक गर्ने तयारी गरिए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।
प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएपछि अन्तिम समयमा खतिवडाले यसबारे थप छलफल गर्न चाहेपछि मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम रोकिएको थियो ।
केन्द्रीय बैंकले पछिल्ला वर्ष अर्थतन्त्रमा देखिएको शिथिलता र न्यून कर्जा प्रवाहको स्थितिमा सुधार ल्याउन लचिला नीतिहरु ल्याएको छ । मौद्रिक नीतिले सेयर बजारका संस्थागत लगानीकर्ता, व्यवसायीहरू, आम उपभोक्ता, निर्माण व्यवसायी, बैंक तथा वित्तीय संस्था, ऋणीहरूलाई लक्षित गरी लचिलो व्यवस्था गरेको छ ।
लचिलो नीतिसँगै आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन केन्द्रीय बैंकले तत्परता देखाएको देखिन्छ । मौद्रिक नीतिले सरकारले ल्याएको बजेट तथा कार्यक्रमलाई पनि प्राथमिकता दिएको देखिएको छ । बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुग्ने गरी कर्जा विस्तारको महत्त्वाकांक्षी लक्ष्य लिएको छ ।