नेप्से ३१ महिनाकै उचाइमा, एकैदिन २७ अर्ब २४ करोडको कारोबार
काठमाडौँ । सेयर कारोबार सोमबार ३१ महिनाकै उचाइमा पुगेको छ । सोमबार सेयर बजारमा एकैदिन २७ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको हो । यो ऐतिहासिक उच्च कारोबार हो ।
हालसम्म बजारमा यो दरमा कारोबार भएको छैन । आइतबार पनि नेप्सेमा एकैदिन २५ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएर रेकर्ड बनेको थियो । नेप्से परिसूचक पनि करिब ३१ महिनाको उच्च विन्दुमा आइपुगेको छ ।
नेप्से परिसूचक ७०.६७ अङ्कले बढेर २९३१.५२ विन्दुमा आएको छ । यसअघि नेप्से २०७८ माघ ४ गते २९३६ विन्दुमा थियो ।
नेप्से अबको केही दिन २९६० देखि २९८० को आसपासमा रहन सक्छ । किनभने नेप्सेले यो विन्दुमा प्रतिरोध पाउने सम्भावना छ ।
यसअघि नेप्से हालसम्मकै उचाइ ३१९८ मा पुगेको समयमा त्यहाँबाट घटेर पुनः बढ्ने क्रममा २९६० देखि २९८० को आसपासमा प्रतिरोध पाएको थियो । यो प्रतिरोध पार गरेमा भने नेप्सेको लक्ष्य नै ३१९८ हुनेछ ।
यसदिन ३३९ वटा धितोपत्रको छ करोड ४८ लाख ७६ हजार २१७ कित्ता सेयर किनबेच भएको हो ।
सोमबार १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ वटाको घटेको छ । यस्तै तीन कम्पनीको मूल्य स्थिर रहेको छ । यसदिन सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर, स्वेत गंगा हाइड्रोपावर, भिजन लुम्बिनी र शुभम पावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको हो ।
यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ८ रुपैयाँ १० पैसामा झरेको छ ।
लक्ष्मी लघुवित्तको मूल्य ३.८० प्रतिशतले घटेको छ । उक्त कम्पनीको प्रति कित्ता मूल्य एक हजार १९० रुपैयाँ कायम भएको छ ।
सोमबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य एक हजार रुपैयाँमा १ अर्ब २२ करोडको सेयर कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४.९४ प्रतिशत बढेको हो ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता ७२२ रुपैयाँमा ९२ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लगानी र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । यसदिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक ५.८५ प्रतिशतले बढेको छ भने दोस्रोमा वित्त समूहको परिसूचक ४.८१ प्रतिशतले बढेको छ ।