दसैँका लागि असोज १३ गतेदेखि सफा र सुकिला नोट साटिने
फाइल फोटो
काठमाडौँ । यस वर्षको दसैँका लागि आउँदो असोज १३ गतेदेखि सुकिला र सफा नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैङ्कले सर्वसाधारणका लागि असोज १३ गते आइतबारदेखि सुकिला नोट सटहीको व्यवस्था मिलाउने अन्तिम तयारी गरेको छ ।
राष्ट्र बैङ्कले केन्द्रीय कार्यालय, प्रदेशका कार्यालय तथा अन्य बैङ्कहरूबाट नोट साट्न सकिने गरी व्यवस्था मिलाएको जनाएको छ । अहिलेसम्म सूचना जारी नभएको तर आउँदो असोज १३ गतेदेखि सुकिला नोट साट्न सक्नेगरी व्यवस्था मिलाउन लागिएको राष्ट्र बैङ्कका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले जानकारी दिए ।
सुकिला नोट साट्न चाहनेले ५, १०, २०, ५० र १ सय दरको सेटमा नोट साट्न सक्नेछन् ।
विगतमा दसैँलगायतका चाडपर्वका लागि पुराना नोटसँग नयाँ नोट साट्ने चलन थियो । तर यो वर्ष राष्ट्र बैङ्कले नयाँ नोट नदिने निर्णय गरेको छ । सहायक प्रवक्ता डा. पोखरेलका अनुसार नयाँ नोटको सट्टामा सर्वसाधारणले सुकिला र सफा नोट पाउनेछन् ।
यस वर्ष असोजको २६ गते दसैँको टीकाको मुख्य दिन परेको छ ।