एकैपटक तोलामा १६ हजार घट्यो सुनको मूल्य, निराश बने सुनमा लगानी गर्नेहरू
फाइल फोटो
काठमाडौँ । सुनको मूल्यमा आज व्यापक गिरावट आएको छ । सोमबार एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज (सोमबार) छापावाल सुनको मूल्य तोलाको एक लाख ५१ हजार तीनसय रुपैयाँमा झरेको छ । हिजो सुनको मूल्य एक लाख ६७ हजार दुईसय रुपैयाँ थियो ।
सरकारले सुनको भन्सारदर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि एकैपटक सुनको भाउमा व्यापक गिरावट आएको हो ।
चालु आर्थिक वर्षमा सुनको आयात घटेपछि चोरी पैठारीबाट सुन आउन थालेको अनुमान गरेर सरकारले भन्सारदर घटाएको हो ।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।
त्यसयताका दुई सातामा सुनको मूल्य ११ हजार रुपैयाँ घटेर एक लाख ६० हजारमा झरेको थियो । आज एकैदिन सुनको मूल्यमा व्यापक गिरावट आएपछि सुनमा लगानी गरेकाहरु निराश भएका छन् ।
त्यसैगरी चाँदीको मूल्य आज प्रतितोला एक सय १५ रुपैयाँ घटेको छ । आइतबार प्रतितोला एक हजार नौ सय ६० मा कायम भएको चाँदीको मूल्य आज घटेर एक हजार आठ सय ४५ कायम भएको छ ।
चाँदीको १५ प्रतिशत भन्सारदरलाई पाँच प्रतिशत बिन्दुले घटाएर १० प्रतिशत कायम गरिएको छ । उच्च भन्सार दरका कारण भारतबाट नेपालमा सुन तस्करी भएको भन्दै सरकारले भन्सारदर घटाएको हो ।