सामाजिक सुरक्षाकोषले श्रमिकका दम्पती र छोराछोरीको उपचार खर्च व्यहोर्ने
फाइल फोटो
काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत वैदेशिक रोजगारमा रहेका श्रमिकका श्रीमान्–श्रीमती तथा १८ वर्षमुनिका छोराछोरीले समेत स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् ।
मंगलबार सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित समारोहमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले उक्त जानकारी गराएका हुन् । उनले पहिले वैदेशिक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अब उनीहरूका श्रीमान्–श्रीमती र १८ वर्ष नकटेका उनीहरूका छोराछोरीहरूका लागि समेत उपचार सेवा थप गरिएको जानकारी दिए ।
उनले कोषमा सोमवारसम्म औपचारिक क्षेत्रका १९ हजार ७६७ रोजगारदाता र पाँच लाख ४३ हजार ३८८ श्रमिक आबद्ध भएको जानकारी गराउँदै यो सङ्ख्या निरन्तर बढिरहेको बताए । उनले कोषले अहिलेसम्म श्रमिक बिरामी भएको, दुर्घटनामा परेको, अशक्त भएको, ज्येष्ठ नागरिक र मृत्यु दाबीबापत कोषले ११ अर्ब ६२ करोड रुपैयाँ कोषका योगदानकर्ता र निजका परिवारलाई भुक्तानी गरिसकेको जानकारी दिए।
कोषको दायरा विस्तारका लागि कोषको केन्द्रीय कार्यालयका अतिरिक्त विराटनगर, सिमरा, बुटवल, नेपालगन्ज, पोखरा र जनकपुरमा कार्यालय स्थापना गरिएको
उनले
बताए । यही आर्थिक वर्षभित्र कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा समेत कार्यालय स्थापना गर्ने योजना रहेको बताउँदै सात वटै प्रदेशमा कोषको भौतिक उपस्थिति सुनिश्चित गर्ने उनको भनाइ छ ।
कार्यकारी निर्देशक अधिकारीले भने, '१७ लाख ९४ हजार ७४० श्रमिक कोषमा आबद्ध भइसकेको अवस्था छ । कोषले सञ्चालन गरिरहेका सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई सुविधा दिने कार्य निरन्तर अघि बढिरहेको छ । पहिले वैदेशिक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अहिले उनीहरूका श्रीमान्, श्रीमती र १८ वर्ष नकटेका छोराछोरीहरूलाई समेत उपचार थप गरिएको जानकारी गराउँछु ।'
उनले कोषमा हालसम्म अनलाइन प्रणालीमार्फत सेवा दिने अस्पतालको सङ्ख्या ९० रहेको बताए। उनले कोषका सम्पूर्ण सेवा अनलाइन प्रक्रियामा लैजाने प्रक्रिया अन्तिम चरणमा रहेको पनि बताए ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?