१० साउन २०८३, आइतबार
26 July , 2026,Sunday

बुद्ध एयरको आपतकालीन ढोका अनाहकमा खोल्ने दुई यात्रुलाई जनही १ लाख जरिवाना

फाइल फोटो

काठमाडौं । विमानको आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई जरिवाना तिराइएको छ । बुद्ध एयरको दुई उडानका क्रममा ढोका खोल्ने यात्रुलाई एक/एक लाख रुपैयाँ जरिवाना तिराइएको हो ।

जरिवानाबापत यात्रुबाट प्राप्त रकम परोपकारी संस्थालाई हस्तान्तरण गरिएको बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ । जनकपुरधामको महागङ्गा आरती–गङ्गासागर र पोखराको वृद्धाश्रमलाई रु एक/एक लाख सहयोग गरिएको हो ।

बुधबार (जनवरी १ तारिख)का दिन पोखराबाट काठमाडौँ (उडान सङ्ख्या छ सय १८) को उडान तयारीका क्रममा एक जना यात्रुले अनाहकमा विमानको आपतकालीन ढोका खोलेका थिए ।

प्राविधिक टोलीको परीक्षणपछि करिब तीन घण्टा ढिलो साँझ ६ः४० मा काठमाडौँका लागि उक्त विमान उडेको थियो ।

यसैगरी काठमाडौँबाट जनकपुरका लागि गत अक्टोबर १० का दिन बिहान ६ः०५ मा उडेको विमान जनकपुरको खराब मौसमका कारण डाइभर्ट भई विराटनगर पुगेको थियो । जनकपुरको मौसममा सुधार आएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको विमानमा ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा एक यात्रुले विमानको ‘इमर्जेन्सी’ ढोका खोलेका थिए ।

उक्त घटनापछि चालक दलले विमान पार्किङ–वेमै फर्काएका थिए। विमानको प्राविधिक जाँचका लागि काठमाडौँबाट टेक्निकल टिम गई सम्पूर्ण जाँचपछि दिउँसो १ बजे जनकपुर अवतरण गरेको थियो। यसबाट उडान प्रक्रिया अवरुद्ध भई त्यस दिनको उडान तालिका निकै प्रभावित बनेको थियो ।

अनाहकमा आपतकालीन ढोका खोल्ने यात्रुलाई विमानस्थल सुरक्षाकर्मीलाई जिम्मा लगाइने गरिएको छ । यात्रुले अब उप्रान्त यस्तो कार्य नगर्ने सर्तमा क्रमशः एक लाख रुपैयाँ क्षतिपूर्ति तिराइएको थियो ।

आपतकालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडानअगावै विस्तृत रूपमा यात्रुहरूलाई जानकारी गराएका हुन्छन् । आपतकालीन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पुर्याउँछ ।

हवाई उडानमा खलल पुर्याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान ९सिभिल एभिएसन० ऐन, २०१५’अनुसार एकदेखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजाय हुने प्रावधान छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्