नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीसँग दुई लाख धरौटी माग
फाइल फोटो
काठमाडौँ । विशेष अदालतले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ । टेलिकमको बिलिङ सिस्टम अपग्रेडमा ३३ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले मंगलबार उक्त आदेश गरेको हो ।
विशेषका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पहाडीलाई दुई लाख तिराउन आदेश दिएको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । टेलिकमको बिलिङ प्रणाली मर्मत गर्न ठेक्का प्रणाली लम्ब्याएर भ्रष्टाचार गरेको अभियोग लागेपछि पहाडी मंगलबार अदालतमा उपस्थित भएकी हुन्। बयान र थुनछेक सकेर उनलाई पुर्पक्षका लागि धरौटीमा राख्ने आदेश गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले जेठ २८ गते पहाडीसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । करिब साढे ३३ करोड रुपैयाँ बिगो दाबी गरिएको यो मुद्दामा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध पनि मुद्दा दायर भएको छ ।
२०६८ पुस ६ गते नेपाल टेलिकम र एसिया लिंकेज टेक्नोलोजिज (चाइना) इन्कबीच सम्झौता भएको थियो । विद्युतीय माध्यमबाट सञ्चालन भइरहेको प्रणालीलाई एउटै प्लेटफर्ममा एकीकृत गर्ने, रियल-टाइम बिलिङ गरी तुरुन्तै शुल्क गणना र अपडेट गर्ने उद्देश्यले उक्त सम्झौता भएको हो ।
सम्झौताका सर्त तय गर्दा बदनियत पूर्वक अस्वाभाविक मूल्य कायम गरिएको अख्तियारको दाबी छ ।
पाँच वर्षका लागि भएको उक्त सम्झौतामा अहिलेसम्म ९ करोड ८८ लाख ४१ हजार ९५६ रुपैयाँ भुक्तान भइसकेको छ भने नेपाल टेलिकमलाई दायित्व सिर्जना भएको २३ करोड ५९ लाख समेत गरी जम्मा ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ नोक्सानी भएको आरोप छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?