काठमाडौँ महानगर: आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब बजेटको सीमा निर्धारण
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षमा महानगरको कार्यालय, काठमाडौँ प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा निर्धारण गरेको हो ।
बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब ११ करोड बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दै छ । बैठकमा प्रमुख शाहले जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिनु भएको थियो । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय समेत गरेको छ ।
आगामी आर्थिक वर्षको बजेटमा आर्थिक विकास क्षेत्रतर्फ ३ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक १४ प्रतिशत, पूर्वाधार विकासतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत बजेटको सीमा तोकिएको छ ।
शुक्रवार बस्ने ४० औँ नगरकार्यपालिका बैठकले नगर सभाको मिति तय गरी नगर सभा मार्फत बजेट सार्वजनिक गर्ने छ ।
नगर सभा बैठकमा प्रमुख बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्नेछन् । बैठकमा राजश्व परामर्श समितिका संयोजक, सदस्य, सदस्य सचिव तथा विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो ।