२८ वैशाख २०८३, सोमबार
11 May , 2026,Monday

अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेटवार्ता

तस्बिरः अर्थमन्त्रीको सचिवालय

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । 

अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध लगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र  अब सञ्चालन हुने परियोजनाहरूका बारेमा छलफल भयो । द्विपक्षीय भेटवार्ता पश्चात् ४ वटा परियोजनाका समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

चितवनको भरतपुरस्थित वि. पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्टशन निर्माण सम्बन्धी परियोजनाको र निजामती कर्मचारी अस्पतालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । जसमा नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट सिड्का अध्यक्षले हस्ताक्षर गरे ।

भरतपुर स्थित वि. पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १८३४ वर्ग मिटर क्षेत्रमा फैलिएको बोनम्यारो क्यान्सर उपचार केन्द्रको निर्माण तथा आवश्यक मेसिनरीको जडान हुनेछ । यसबाट बोनम्यारो क्यान्सरको उपचारमा उल्लेख्य योगदान पुग्नेछ । 

त्यस्तै निजामती कर्मचारी अस्पतालको विस्तारको सम्भाव्यता अध्ययन समेत हुनेछ । यी दुई सम्झौताको कार्यान्वयनबाट नेपालको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

यही अवसरमा नेपाल र चीनबीच मानव संसाधन विकास सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भयो । यसबाट १२७० जना सरकारी कर्मचारीलाई चीनका विभिन्न संस्थाहरूले आयोजना गरेको द्विपक्षीय तथा बहुपक्षीय सेमिनारमा भाग लिने अवसर प्राप्त हुनेछ । यसबाट कर्मचारीको क्षमता अभिवृद्धिमा उल्लेख्य योगदान पुग्नेछ ।

यही अवसरमा रसुवागढी केरुङ सिमापार ट्रान्समिसन लाइन निर्माणको निर्माणको सम्भाव्यता अध्ययन सम्बन्ध माइन्युटमा नेपाल विद्युत् प्राधिकरणका एमडी हितेन्द्रदेव शाक्य र सिड्का अध्यक्षले हस्ताक्षर गरे । यसबाट रसुवागढी केरुङ ट्रान्समिसन लाइन निर्माण सम्बन्धी सम्भाव्यता अध्ययनको काम अगाडि बढ्नेछ ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपाल चीन बहुआयामिक सम्बन्धको चर्चा गर्दै नेपाल भ्रमण गर्नु भएकोमा सिड्का अध्यक्षलाई धन्यवाद दिए । साथै उच्चस्तरीय भ्रमणले दुई पक्षीय सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने विचार व्यक्त गरे । 

अर्थ सचिव घनश्याम उपाध्यायले नेपाल चीन सम्बन्धको महत्त्व उल्लेख गर्दै हस्ताक्षर भएका परियोजनाले नेपालको स्वास्थ्य क्षेत्र, मानव संसाधन विकास र सिमापार विद्युत् व्यापारमा योगदान पुग्ने र यसबाट नेपाली जनताको लागि फाइदाजनक हुने बताए । उनले आगामी दिनमा मित्रराष्ट्र चीनको तर्फबाट पूर्वाधार निर्माणमा थप सहयोग हुने विश्वास व्यक्त गरे ।

बाढीले पुर्‍याएको भौतिक संरचनाहरूको पुनर्निर्माणमा सहयोग गर्ने चिनियाँ प्रतिबद्धता

यसैबीच रसुवा जिल्लामा बाढीले पुर्‍याएको भौतिक संरचनाहरूको पुनर्निर्माणमा चीनले सहयोग गर्ने भएको छ ।

अर्थमन्त्री भेटवार्तामा सिड्काका अध्यक्ष सियाओदोङ्गले भौतिक संरचनाहरूको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रक्रिया छिटो सञ्चालन हुने गरी काम गर्ने जानकारी दिए । 

सिड्काका अध्यक्ष सियाओदोङ्गले बाढीपछि नेपाल सरकारले उद्धार र बेपत्ता भएकाहरूको खोजीमा देखाएको सक्रियता र सहयोगप्रति धन्यवाद व्यक्त गरे ।  

अर्थमन्त्री पौडेलले विपद् लगत्तैको पुनर्निर्माण नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै भौतिक संरचनाहरूको पुनर्निर्माणप्रति देखाएको तत्परता, चासो र प्रतिबद्धताका लागि चिनियाँ पक्षलाई धन्यवाद दिए । 'आयात-निर्यातका लागि मात्र होइन, राजस्वका हिसाबले पनि रसुवा नाका महत्त्वपूर्ण छ । त्यसैले पुनर्निर्माणलाई छिटो अघि बढाउँछौँ'- अर्थमन्त्री पौडेलले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्