बुटवल उपमहानगरपालिकाले 'छोरी पढाऔँ समाज बनाऔँ' मार्फत निःशुल्क पढाउने
रुपन्देही । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सार्वजनिक गरेको छ । जसअन्तर्गत बुटवलले 'छोरी पढाऔँ समाज बनाऔँ’ कार्यक्रमअन्तर्गत बुटवल टेक्निकल इन्स्टिच्युटमा छात्रालाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने, असहाय र विपन्न वर्गलाई विद्यालयमा नियमित गर्न नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गर्ने नीति बुटवलले अगाडि सारेको छ ।
नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखेको छ । उपमहानगरपालिकाले कृषि, पर्यटन, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिने मूल रणनीति बनाएको छ ।
नगरसभाको १५औँ अधिवेशनमा बुधबार नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरणको विकास गरी बस्न योग्य सहर बनाउने ध्येय रहेको बताए । उनले बुटवललाई सबै जातजातिले अपनत्व गर्न सक्ने साझा सांस्कृतिक सहरका रूपमा स्थापित गर्ने र पर्यटकीय विश्राम स्थल बनाउने गरी आवश्यक नीति अगाडि सारिएको जानकारी दिए ।
उज्यालो, सफा, सुन्दर र हरियालीसहितको सुरक्षित र समुन्नत सहरको रूपमा विकास गर्ने, सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी सहरलाई जीवन्त बनाउने, सेवा प्रवाहलाई जनउत्तरदायी, पारदर्शी र सुशासनयुक्त बनाउने र मौलिक भाषा, संस्कृति र सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
बुटवलले विद्यालय खाजा कार्यक्रममा रु १० थप गरी रु २५ बनाउने नीति लिएको छ । निजी विद्यालयले सबै कक्षामा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने र हरेक शैक्षिक सत्रको अन्तमा विवरण अनिवार्य सार्वजनिक गर्ने नीति ल्याएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख पाण्डेयले सार्वजनिक निजी साझेदारीमा बुटवल–११ मा सय शय्याको सुविधा सम्पन्न अस्पताल सञ्चालन गर्ने बताए । मुख्य राजमार्ग क्षेत्र र चोकमा स–साना पार्क, विश्राम चौतारी, सार्वजनिक शौचालय, पिउने पानीको व्यवस्था थप गरी आवश्यकताअनुसार पार्किङ क्षेत्र तोक्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
बुटवल औद्योगिक क्षेत्र, अटो भिलेज र अन्य क्षेत्रमा सञ्चालनमा रहेका उद्योग व्यवसायलाई नगरमा अनिवार्य रूपमा दर्ता गरी करको दायरामा ल्याउने र राजस्व वृद्धिका लागि ‘स्पेसल टास्क फोर्स’ सञ्चालन गर्ने नीति बुटवलले अगाडि सारेको छ । आधुनिक पशु वधशालाको मासु उपभोग तथा बिक्री गर्ने मासु पसल, होटल, रेस्टुराँ र अन्य व्यवसायलाई प्रोत्साहनको नीति लिने र पशु वधशालाभन्दा बाहिर खसी बोका वध गर्ने कार्यलाई कानुनबमोजिम रोक लगाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
गृहिणी महिलाहरूलाई स्वरोजगार बनाउन नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रमअन्तर्गत उत्पादित वस्तुको बिक्री गर्न कोसेली घर स्थापना गर्ने र नगरको चिनोका रूपमा स्थापित गर्ने नीति तथा कार्यक्रममा भनिएको छ । बुटवल भ्रमण वर्ष घोषणा गरी ‘घुमौँ बुटवल’ अभियान सञ्चालन गरी पर्यटक आगमन वृद्धि गर्ने नीति अगाडि सारिएको छ ।