काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधि, जीवनोपयोगी र रोजगारमूलक बनाउन आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको काठमाडौँ विश्वविद्यालय सभाको ९९ बैठकमा सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति ओलीले बेरोजगार हुने नभई रोजगार र स्वरोजगार हुन सक्ने खालको जनशक्ति उत्पादनमा लाग्न आग्रह गर्दै यस मामिलामा काठमाडौँ विश्वविद्यालयले गरेका प्रयास सकारात्मक भएको बताए ।
उनले स्वास्थ्य शिक्षा र अन्य विषयका सन्दर्भमा आम विद्यार्थीको पहुँच वृद्धि गर्न र चिकित्सा शिक्षामा मात्रै दिइँदै आइएको ७५ प्रतिशतसम्मको छात्रवृत्तिका बारेमा पुनः विचार गर्नुपर्ने धारणा राखे ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति रघुजी पन्तले शैक्षिक सुधार र रूपान्तरणका लागि प्रधानमन्त्री ओलीले लिएको चासो र चिन्तालाई कार्यान्वयन गराउन आग्रह गर्दै मन्त्रालयका तर्फबाट नेपाललाई शैक्षिक हब बनाउन प्रयास गरिने बताए । विश्वविद्यालयका उपकुलपति प्रा डा अच्युतप्रसाद वाग्लेले शिक्षणका साथै अनुसन्धानात्मक विश्वविद्यालयको अवधारणालाई व्यवहारमा अनुवाद गर्ने नीति अनुरूप काम गरिने बताए ।
दीक्षान्तका लागि ग्रेस लिस्ट पारित
बैठकले यही जेठ ३० गते धुलिखेलमा आयोजना हुने ३० औँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमका लागि विभिन्न स्कुलहरू अन्तर्गत विभिन्न तहमा उपाधि हासिल गरेका एक हजार एक सय २९ विद्यार्थीको ग्रेस–लिस्ट स्वीकृत गरेको छ । ग्रेस लिस्टमा एक सय १८ विदेशी विद्यार्थी समावेश रहेका छन् ।
बैठकले रजिस्ट्रार प्रा डा राजीव श्रेष्ठद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/०८३ लागि अनुमानित रु चार अर्ब तीन करोड ८० लाख बजेटसहितको कार्यक्रम पारित गरेको छ । यसैगरी गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन र यस आर्थिक वर्षको कार्य प्रगति प्रतिवेदन पारित भएको छ ।
बैठकले विश्वविद्यालय सभाको सदस्यका लागि चन्दादातामध्येबाट रत्ना कोइराला, लब्ध प्रतिष्ठित विद्वानमध्येबाट त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व डीन प्रा डा दिव्या सिंह, सामुदायिक स्वास्थ्य विशेषज्ञ डा रिता थापा, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवकुमार गौतम, मनोचिकित्सक अनन्तप्रसाद अधिकारी, विश्वविद्यालयका शिक्षकमध्येबाट डा विकास अधिकारीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
विश्वविद्यालय र धुलिखेल अस्पतालबीच सहयात्राका नयाँ खाका
बैठकले काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको भावी सहयात्राको नयाँ खाकासहितको प्रतिवेदन पनि पारित गरेको छ । दुई संस्थाबीचको आपसी समस्याबारे गत माघ ४ गतेको सभा बैठकमा समाधानसहितको प्रस्ताव तयार गर्न राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा गठित सहजीकरण समितिले दिएको प्रतिवेदन पारित भएको हो । नयाँ खाका अनुसार दुई संस्था आपसमा सहयात्राबाट अलग हुन चाहेमा एकले अर्कोलाई छ वर्ष अगाडि जानकारी दिनुपर्ने लगायतका व्यवस्था गरिएका छन् ।
विश्वविद्यालयको २५ वर्षे यात्रा पुस्तकमा
सिनेट बैठक लगत्तै प्रधानमन्त्री ओलीबाट सो विश्वविद्यालयका संस्थापक रजिस्ट्रार डा सीताराम अधिकारीद्वारा लिखित ‘काठमाडौँ विश्वविद्यालय: पहिलो २५ वर्ष’ पुस्तकको भाग १ र २ को लोकार्पण गरे । प्रधानमन्त्री ओलीले केही नभएको डाँडोबाट थालनी भएको विश्वविद्यालय स्थापनामा लागेका व्यक्तित्वबाट यस प्रकारको पुस्तक लेखनले इतिहास बुझ्न सघाउने बताए ।