ललितपुरमा जलवायु परिवर्तन सम्बन्धी फोटो प्रदर्शनी (तस्बिर)
तस्बिरः एनएफपिजे
ललितपुर । १ सय ८५ औँ विश्व फोटोग्राफी दिवसको अवसर पारेर राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) ले फोटो प्रदर्शनी गरेको छ । ललितपुरको मंगलबजारमा गरिएको एक दिने प्रदर्शनीमा जलवायु परिवर्तनसँग सम्बन्धित तस्बिरहरू राखिएको थियो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले फोटो प्रदर्शनी उद्घाटन गरेका हुन् । प्रदर्शनीको उद्घाटन गर्दै उनले देशभरको हिमालको फोटो समेटेर जलवायु परिवर्तनले हिमालमा पारेको असरका विषयमा फोटोको माध्यमबाट उजागर गर्न खोज्नु राम्रो काम भएको बताए ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पनि अवलोकन गरेको तस्बिर प्रदर्शनीमा ४० भन्दा बढी फोटो पत्रकारले खिचेका हिमालसँग सम्बन्धित तस्बिरहरू राखिएको कार्यक्रम संयोजक तथा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले जानकारी दिए ।
एनएफपिजे नेपालले विश्व फोटोग्राफी दिवस निरन्तर रूपमा मनाउँदै आइरहेको छ । अघिल्लो वर्ष पनि दिवस मनाउने क्रममा बालअधिकारको संरक्षण र प्रवर्द्धनमा समाजमा आएको सकारात्मक परिवर्तनलाई चित्रण गर्ने प्रकारका बालबालिका सम्बन्धी ६० वटा तस्बिरहरू प्रदर्शनीमा राखिएको थियो ।

पछिल्लो समय जलवायु परिवर्तन कारण हिमालहरू पग्लिने र हिमतालहरू विस्फोटका कारण त्यहाँका जनतालाई परेको असरलाई फोटो मार्फत देखाउनको लागि सो प्रदर्शनी गरिएको राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए । उनले भने, 'हिमाली क्षेत्रमा जलवायु परिवर्तनले नराम्रो असर गरिरहेको छ । वन डढेलो, हिउँ पग्लने, हिमताल विस्फोट हुने जस्ता समस्या बढिरहेका छन् । जलवायु परिवर्तनको असरका कारण हिमाल र हिमाली क्षेत्र जोखिममा परेको छ । पर्वतीय क्षेत्रलाई जलवायुको संकटबाट बचाउन समयमा नै सबैले ध्यान दिन जरुरी छ ।'


