२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

भूकम्पको केन्द्रविन्दु नजिक नेपालतर्फ कस्तो छ अवस्था ?

फाइल फोटो

काठमाडौं । आज बिहान गएको भूकम्पले नेपालमा भएको क्षतिको विवरण संकलनको काम भइरहेको छ । आज बिहान ६ बजेर ५० मिनेटमा नेपाल–चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु चीनको दिङ्गे काउन्टीमा थियो ।

नेपालका भूगर्भविदहरूका अनुसार लोबुचे हिमालबाट ९३ किलोमिटर उत्तरतिर र तिब्बतको सिगात्सेबाट २८ किलोमिटर दुरीमा भूकम्पको इपिसेन्टर छ । यससँग नेपालका नजिकका जिल्ला सोलुखुम्बु, संखुवासभा, दोलखा र ताप्लेजुङ पर्दछन् ।

ती जिल्लाका प्रहरी अधिकृतहरुले भूकम्पको कडा धक्का महसुस भएको र क्षति भए/नभएकोबारे बुझ्ने काम भइरहेको जनाएका छन् । प्रहरी फौज रहेको स्थानमा बुझ्दा अहिलेसम्म क्षतिको विवरण भने नआएको उनीहरुले बताएका छन् ।

संखुवासभाका प्रहरी प्रमुख दक्ष कुमार बस्नेतले जिल्लामा क्षतिको विवरण प्राप्त नभएको बताए । सूचनाको पहुँच भएको क्षेत्रसम्म बुझ्दा क्षतिको जानकारी नभएको उनले बताए ।

यसैगरी दोलखा प्रहरीका प्रवक्ता दाताराम अधिकारीले पनि क्षतिको विवरण प्राप्त नभएको बताए । उनका अनुसार दोलखामा च्छोरोल्पा हिमताल र लामाबगर अति जोखिमयुक्त क्षेत्र मानिन्छन् । ती स्थानमा अहिलेसम्म भूकम्पले क्षति भएको जानकारी नआएको अधिकारीले बताए ।

नेपाल–चीन सीमा क्षेत्रमा रहेका हिमतालहरु जोखिमयुक्त मानिन्छन् । यदि ती विष्फोट भएमा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुग्ने विज्ञहरु बताउँछन् । त्यस्ता सम्भावित जोखिमका क्षेत्रमा थप सूचना संकलन र अलर्ट रहन मातहतका प्रहरीलाई भनिएको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

सोलुखुम्बुका प्रहरीका प्रवक्ता लक्ष्मण गिरीले अहिलेसम्म क्षतिको विवरण प्राप्त नभएको बताए । ‘बुझ्ने काम जारी छ, तर अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन,’ उनले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्