११ असार २०८३, बिहिबार
25 June , 2026,Thursday

विपद् जोखिम न्यूनीकरण गर्न समयमा समन्वय र सहकार्य गरी काम गर्नुस्: मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बाढी पहिरो लगायत विपद् जोखिम न्यूनीकरण गर्न आम नागरिकलाई समयमै सही सूचना दिने व्यवस्था मिलाउन मातहतका निकाय तथा सरोकारवालाहरूलाई आग्रह गरेकी छन् । 
मनसुनजन्य विपद्का घटना बढ्न थालेको बेला इमरजेन्सी टेलिकम्युनिकेसन क्लष्टर (ईटिसी)को बैठक आव्हान गरेर मन्त्री शर्माले सबैलाई तयारी अवस्था रहन आग्रह गरेका हुन् । उनले आफ्ना सबै संरचनाहरू तयारी हालतमा राखेर नागरिकलाई तत्काल सूचना दिने गरी पूर्व तयारी थाल्ने सरोकारवालाहरूलाई आग्रह गरे । 'आपत्कालीन अवस्थामा सञ्चार नै प्रमुख कुरा हो, समयमै सही सूचना भयो भने एकातिर जनधनको क्षति रोक्न सकिन्छ भने अर्कोतिर उद्धार, उपचार र राहतका काम पनि प्रभावकारी बनाउन सकिन्छ’– उनले भने– 'विपद्को बेलामा सञ्चार पूर्वाधारमा कुनै समस्या आउन नदिएर सेवा प्रवाह गर्ने र आवश्यक सूचना प्रचारप्रसार गरेर क्षति न्यूनीकरण गर्ने पनि सञ्चार क्षेत्र नै भएकाले यो क्षेत्र थप गम्भीर र संवेदनशील हुन आवश्यक छ ।'
विपद्का घटना हुनुअघि पूर्व सूचना दिने र स्वयं सञ्चार सम्बद्ध निकाय तथा संस्थाहरूले आफूलाई विपद्बाट बचाएर सेवा प्रवाह गर्ने दुवै तरीकाले सोच्नुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले हरेक निकायले आपत्कालीन उद्धार समूहहरू बनाएर अघि बढ्नुपर्ने बताए । टेलिफोन र इन्टरनेट सेवा प्रदायकहरूलाई सम्भावित जोखिमस्थलहरूको पहिचान गरेर घटनापछि सेवा अवरुद्ध नहुने गरी वैकल्पिक व्यवस्थापन गर्न आग्रह गरे । 
नेपाल विपद्का हिसाबले विश्वमै जोखिमयुक्त मुलुक भएकाले एउटा विपद्बाट बच्ने तयारी गरिरहँदा अर्को विपद् आउन सक्ने भएकाले दीर्घकालीनरूपमा नै विपद्बाट बच्नका लागि सञ्चार व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा मन्त्री शर्माले जोड दिए । उनले यस्तो अवस्थामा आम सञ्चारका माध्यमको सबैभन्दा प्रभावकारी भूमिका हुने र त्यसमा पनि अझ जस्तो विपद्को बेलामा पनि सुन्न सकिने रेडियोहरूले क्षण क्षणमा सही सूचना दिनुपर्ने बताए ।
यसका लागि सरकारले के गर्नुपर्ने, सरकार मातहतका सञ्चार क्षेत्रले के गर्नुपर्ने, निजी क्षेत्रका सेवा प्रदायक र सामुदायिक तथा निजी क्षेत्रका सञ्चार माध्यहरूले के गर्नुपर्ने भन्ने विषयमा छलफल गरेर ठोस तयारीका लागि इमरजेन्सी टेलिकम्युनिकेसन क्लष्टरको बैठक बोलाइएको जानकारी दिँदै उनले सबै क्षेत्रले आ–आफ्नो तर्फबाट राम्रै तयारी गरेको भए पनि यसलाई एकीकृत र समन्वयकारी रूपमा अघि बढाउन आवश्यक रहेको बताए । 
सङ्कटको बेलामा सरकार, समुदाय, गैर सकारी र निजी क्षेत्रको बिचमा कुनै भिन्नता नहुने स्पष्ट गर्दै सबै एकीकृत रूपमा आधारित तथा सही सूचनाका आधारमा अघि बढ्नुपर्नेमा मन्त्री शर्माको जोड थियो ।
बैठकमा दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र एनसेलका प्रमुख तथा प्रतिनिधिहरूले बाढी पहिरोको जोखिम स्थल क्षेत्रका सेवाग्राहीलाई विपद् जोखिमको सूचना दिन एसएमएस गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका थिए । त्यस्तै सरकारी स्वामित्वका सञ्चारमाध्यम, अकोराब, बानलगायतका संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले विपद्जन्य जोखिमबाट बच्नका लागि सचेतनाका कार्यक्रम र सूचनाहरू नियमित रूपमा प्रवाह गरिरहेको बैठकमा जानकारी गराएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्